झापा, २९ असार ।मोवाइल चोरीको आरोपमा झापा,भद्रपुर नगरपालिका ५ का १८ बर्षीय मोहम्बद प्यारे पक्राउ परेका छन् । उनीसंग चोरीको समान,नगदसहित पेस्तोलमा लाग्ने ८० राउण्ड गोली समेत बरामद भएको प्रहरीको दावी छ । यही असार २४ गते राती पुरानो भद्रपुरमा राजु अग्रवालले सञ्चालन गर्दै आएको प्रियंका मोबाइल पसलबाट पसल भित्र रहेका बिभिन्न कम्पन्नीका मोबाइल २९ थान, घडी २ थान र नगद रु ६१५०० गरी रु ५ लाख अठार हजार दुई सय मूल्य बराबरको चोरी भएको थियो ।
उजुरी परे लगत्तै चोरीमा संग्लग्न ब्यक्तिको खोजतलासमा खटिएको प्रहरी टोलीले प्यारेलाई २८ गते राती पक्राउ गरेको हो । पक्राउ परेका ब्यक्तिलाई सोधपुछ र अनुसन्धान गर्ने क्रममा चोरी भएका मध्ये १ थान मोवायल, मोवाइलको चार्जर २७ थान र प्यारेको घरबाट ८० राउण्ड पेस्तोलको गोली बरामद भएको हो । साथै निजले सटर फुटाउन प्रयोग गरेको रड र पसलमा लगाएको तोडिएको ताला समेत बरामद भएको र घटाना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।