झिलझिले,२५ असार । सहकारीको रकम हिनामिना गरेको अभियोगमा झापाको शिवसताक्षी- ६ झिलझिलेमा रहेको साइनो बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिपककुमार मेन्याङ्बो लिम्बू पक्राउ परेका छन् ।
संस्थाका शेयर सदस्य खिलमान राईसहितका ९ जना बचतकर्ताहरुले आफ्नो बचत फिर्ता नपाएको भन्दै जाहेरी दिएपछि असार १० गते उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हिनामिनामा अध्यक्ष लिम्बूसहित ८ जना संचालक र कर्मचारीहरु मुछिएका छन् भने उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रञ्जन अवाले बताए ।
साइनो सहकारीमा करिव ६ करोड रुपैयाँ हिनामिना भएको अनुमान गरिएको छ । आफूसहित ९ जनाको १ करोड ८४ लाख रुपैयाँ हिनामिना भएको जाहेरी दिएको पीडित राईले बताए ।
शिवसताक्षी नगरपालिकाले यस सहकारीका विषयमा छानबिन गरी प्रतिवेदनसहित सिफारिस पठाएपछि प्रहरीले कार्वाही अघि बढाएको हो । यसैबीच प्रहरीले साइनो बचत तथा ऋण सहकारी संस्थाका अन्य बचतकर्ताहरुलाई पनि निवेदन दिन आव्हान गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक दुर्गाबहादुर भट्टराईले एक सार्वजनिक सूचना जारी गरी साइनो बचत तथा ऋण सहकारी संस्थाबाट पीडित भएको भए यस सहकारीमा विगतदेखि हालसम्म आवद्ध रहेका शेयर धनी तथा वचतकर्ताले सात दिनभित्र वचतकर्ताहरुले प्रयोग गरेको पास बुक, नागरिकताको फोटोकपि छायाकपी, एफडी कार्ड लगायतका कागजातहरु लिई जिल्ला प्रहरी कार्यालय झापामा सम्पर्क राख्न अनुरोध गरेका छन् ।
अध्यक्ष लिम्बूलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको र थप अनुसन्धान भईरहेको डीएसपी अवाले बताए ।