
झापा,२४ असार । झापा कारागारमा रहेका कैदीबन्दीले बुधबार सिन्धुपाल्चोकस्थित हेम्लबू गाउँपालिकाका बाढी पीडितका लागि रु ५० हजार १०० नगद पठाइदिएका छन् । वर्षायामको शुरुआती दिनमै सिन्धुपाल्चोकमा बाढी पहिरोका कारण ठूलो धनजनको क्षति भएपछि पीडित परिवारलाई राहतस्वरुप सहयोग गर्ने उद्देश्यले सो नगद रकम कैदीबन्दीले पठाइदिएका हुन् ।
कारागार झापामा कैदीबन्दीतर्फको आन्तरिक प्रशासन प्रमुख शेरबहादुर थेबेले परिस्थितिले हामी जहाँ रहे पनि जस्तो रहे पनि मानवीय संवेदना हुनुपर्छ भनेर बाढीपीडितहरुलाई नगद राहत पठाइएको बताए । सिन्धुपाल्चोकका बाढी पीडितको पीडामा मलमपट्टि पुगोस भनेर हामीले एक दिनको छाक कटाएर सहयोग पठाएको उनले उल्लेख गरे ।
कैदीबन्दीले जम्मा गरेको रकम बुधबारै पालिकाको विपद् राहत कोषको खातामा जम्मा गरिदिएको जिल्ला कारागार झापाका प्रमुख राजेन्द्र गौतमले बताए । कारागारमा ७६ महिला र एक हजार १४६ पुरुष कैदीबन्दी रहेका छन् ।