-सन्तोष भण्डारी
जब कुनै किसान माटोमा बीउ रोप्छ, ऊ केवल त्यो बीउलाई होइन,भविष्यमा उब्जिने सिङ्गो रुख, त्यसको छायाँ, फलफूल र सम्भावनालाई देखेर रोप्छ । उस्तै गरी, एउटा विपन्न गाउँको अभिभावक जब आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउँछ, ऊ केवल अक्षर चिन्नका लागि होइन, आफू र आफ्ना सन्तानको सुरक्षित, सम्मानित र उज्यालो भविष्यको सपना देखेर लगानी गर्छ। आफ्नो जीवन दुःख–कष्टमा बिते पनि, सन्तानले त्यो पीडा नभोगून् र आफ्नो पनि बुढेउली सुख र शान्तिमा बितोस भन्ने आशामा ऊ सबैथोक दाउमा राख्छ ।
शिक्षक त राष्ट्रका निर्माणकर्ता हुन । उनीहरूको जिम्मेवारी नयाँ सोच, आत्मविश्वास र उज्यालो भविष्य निर्माण गर्नु हो। धेरै शिक्षकहरू इमान्दार छन, जसले दिनरात खटिएर सामुदायिक विद्यालयलाई उज्यालो र सबैको भरोसा हुने बनाएका छन् । तर केही शिक्षकहरू छन्, जसले यो पेशालाई केवल आम्दानीको स्रोत बनाएका छन् । निजी विद्यालयमा टिपनटापनमा रमाउने, तर आफ्नै विद्यालयमा लापरवाही गर्ने प्रवृत्तिको निगरानी कसले गर्ने?
……………………………………………………………………………………………………..
तर अहिलेको see नतिजाले हजारौँ सपना च्यापिदिएको छ। शिक्षा अब भविष्यको भरपर्दो गोरेटो होइन, कठोर छानिने थ्रेसिङ मेसिन बनेको छ, जहाँ बीउ उम्रनु अघि नै कुटिन्छ, पिसिन्छ र हराउँछ। विशेषगरी दुर्गम र गरिब बस्तीका बालबालिकाको सपना यसले सधैका लागि ताल्चा लगाएर बन्द गरिदिएको छ ।
हरेक वर्षको रिजल्टसँगै १३-१४ वर्षका बालकहरू आफूलाई फेल भएको घोषणा गर्दै आत्मग्लानीमा डुब्छन । कतिपयले अयोग्यताको बिल्ला भिरेर मजदुरी गर्न खाडी जाने बाटो रोज्न बाध्य हुन्छन । त्यो बुवा, जसले ऋण लिएर छोराछोरीलाई पढाएको थियो, फेरि ऋणमै डुबेर कतार पठाउने निर्णय गर्न बाध्य हुन्छ ।
होला, कतिपय अभिभावक र विद्यार्थीले बुझ्दैनन्, तर बुझाउने जिम्मेवारी कसको हो? चेतना नभएकालाई चेतना जगाउने काम कसको हो? राज्यले कसलाई दिएको छ यो जिम्मेवारी?
अन्य विषयमा त राज्य अत्यन्त कठोर भएर कानुन लाद्छ, तर शिक्षाको मामिलामा किन सधै मौन छ ? जब बालबालिकाको भविष्यमा ताल्चा लाग्छ, जब गरिब अभिभावकको सपना सिसाजस्तै चकनाचुर हुन्छ, को छ त्यो बहादुर, जसले नैतिक जिम्मेवारी लिन्छ?
विद्यालय, शिक्षक र सम्बन्धित शाखाहरू मुख्य जिम्मेवार बन्नुपर्छ। तर यहाँ त शिक्षकको काम केवल विद्यालय आइपुगेर घण्टी बसाल्नुजस्तो देखिन्छ, र शाखा त मपाईत्वमै व्यस्त छ। मूल्याङ्कन, अनुगमन, निरीक्षणको अभाव र राजनीतिक हस्तक्षेपले यस्ता प्रवृत्तिलाई मौन समर्थन दिएको छ ।
शिक्षक त राष्ट्रका निर्माणकर्ता हुन । उनीहरूको जिम्मेवारी नयाँ सोच, आत्मविश्वास र उज्यालो भविष्य निर्माण गर्नु हो। धेरै शिक्षकहरू इमान्दार छन, जसले दिनरात खटिएर सामुदायिक विद्यालयलाई उज्यालो र सबैको भरोसा हुने बनाएका छन् । तर केही शिक्षकहरू छन्, जसले यो पेशालाई केवल आम्दानीको स्रोत बनाएका छन् । निजी विद्यालयमा टिपनटापनमा रमाउने, तर आफ्नै विद्यालयमा लापरवाही गर्ने प्रवृत्तिको निगरानी कसले गर्ने?
सरकार पनि उल्टो गतिमा छ । शिक्षकलाई उत्तरदायी बनाउने वातावरण सिर्जना गर्नुको सट्टा, शिक्षा ऐनमा समेत मुसो बिरालोको खेल खेलिरहेको छ । पारदर्शी मूल्याङ्कन, प्रेरणादायी तालिम र समुदायको निगरानी संयन्त्र हराएको छ। जसको कारण, विपन्न बालबालिकाको भागमा गुणस्तरीय शिक्षा कहिल्यै नपर्ने चिन्ता बढ्दो छ ।
गत वर्ष ५८% र यसवर्ष ३८% अनुत्तीर्ण विद्यार्थीको चिन्ता कसले लिएको छ ? ती विद्यार्थी अहिले कहाँ होलान? जीवनको योजना के बनाउँदै होलान? कसले लिन्छ यसको जिम्मेवारी? कसले देखाउँछ नैतिकता? कसले देखाउँछ बाटो? कसले दिन्छ तिनलाई न्याय?चिन्ता रहिरहन्छ सधैं।(कमल -६ झापा )