प्रधानमन्त्रीले सात दिनभित्र वार्ता टोली गठन नगरे बिपीका चिकित्सकले सामूहिक राजीनामा दिने

धरान,१६ असार । यहाँस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चर्केको आन्दोलन उत्कर्षतिर अघि बढेको छ । बुधबार बिहान आन्दोलनकारीले प्रतिष्ठानका चारै जना पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गर्दै उनीहरुको बहिर्गमनको मागलाई अबको आन्दोलनको मुख्य मुद्दा बनाएका छन् ।
चिकित्ससहितको आन्दोलनकारीले अब प्रतिष्ठानका पदाधिकारीसँग कुनै वार्ता नहुने भन्दै समस्या समाधानका लागि प्रधानमन्त्रीको पहलमा तत्काल वार्ता टोली गठन गर्न माग गरेका छन् । सरकारले समस्या समाधानको पहल एक साताभित्र नभए आफूहरुले सामूहिक रुपमा राजीनामा दिने समेत घोषणा गरेका छन् ।
असार २३ सम्मको अल्टिमेटम दिँदै प्रतिष्ठानको संयुक्त संघर्ष समितिले त्यसबेलासम्म माग सम्बोधन नभए प्रधानमन्त्री कार्यालय घेर्ने चेतावनी दिएका छन् ।
दुई सातादेखि निरन्तर आन्दोलनमा रहेका प्रतिष्ठानका चिकित्सक, विद्यार्थी तथा कर्मचारीले यसपटक तीन वटा माग अघि सारेका छन् । बुधबार पदाधिकारीको कार्यकक्षमा ताला लगाएपछि जारी विज्ञप्तिका अनुसार उपकुलपति डाक्टर ज्ञानेन्द्र गिरी, रजिष्ट्रार प्राध्यापक डा. मोहनचन्द्र रेग्मी, रेक्टर प्राध्यापक डा. गुरू खनाल र मेडिकल डाइरेक्टर प्राध्यापक डा. गौरीशंकर साहको बहिर्गमनलाई आन्दोलनकारीले अबको न्यूनतम शर्त बनाएका छन् ।
त्यस्तै प्रतिष्ठानमा अब पदाधिकारी नियुक्त गर्दा विभिन्न आयोगले निर्धारण गरेको मापदण्ड पालना गरेर पारदर्शी रूपमा छनोट गर्नुपर्ने माग आन्दोलनकारीको छ । ‘चारै जना पदाधिकारीबाट प्रतिष्ठानको सही नेतृत्व नहुने निष्कर्षमा संयुक्त संघर्ष समितिको ठहर छ’, आन्दोलनकारी चिकित्सक डा. पदम नेपालीले भने, ‘त्यसैले प्रतिष्ठान सुरक्षाका लागि हामी अब उहाँहरुको बहिर्गमनको माग अघि राख्न बाध्य भयौं।’ यस्तो अवस्था पदाधिकारीले निम्त्याएको उनको आरोप छ ।
प्रतिष्ठानमा एकपछि अर्को तनावको मुख्य कारक बनेका उपकुलपति गिरीले नै अनियमितताविरुद्ध बोल्ने चिकित्सकलाई प्रष्टीकरण सोधेर आन्दोलनको आधार तयार पारेका थिए । लगत्तै काठमाडौं गएर लामो समय बसेका उनी सोमबार साँझ धरान आएका थिए।

प्रतिष्ठानमा आएपछि वार्ताका लागि आन्दोलनकारीलाई बोलाएर उनले असामान्य गतिविधि गरेपछि मंगलबार वार्ता भाँडिएको थियो । आन्दोलनकारीले उपकुलपति गिरीले मादक पदार्थ सेवन गरेको आरोप लगाउँदै वार्तास्थलमै अन्य पदाधिकारीसहित उनलाई पनि थुनेका थिए ।
त्यहीबेला प्रहरी, धरानका मेयरसहितका जनप्रतिनिधिहरुसमेत प्रतिष्ठान पुगेका थिए । त्यसक्रममा उपकुलपति गिरीलाई मापसे चेक गर्न मेयर तिलक राईले पनि आग्रह गरेका थिए । तर, उपकुलपति गिरीले मापसे चेक गर्न मानेनन् । प्रहरीले पनि माथिल्लो निकायले मात्रै त्यसो गर्न सक्ने भन्दै गिरीको जाँच पक्रिया थाल्न अस्वीकार गरेको थियो ।
यसमा मुख्य रुपमा उपकुलपतिकै गल्ती रहेको प्रहरी स्रोतको भनाइ छ । ‘हामीले उहाँकै कार्यालयमा गएर मापसे चेक गराउन मिल्दैनथ्यो’, सुनसरी प्रहरीका एक अधिकारीले भने, ‘उहाँलाई आन्दोलनकारीले गम्भीर आरोप लगाएका थिए । यदि मापसे थिएन भने चेक गर्न दिएर आफूमाथि लागेको आरोपको खण्डन गर्न सक्नुहुन्थ्यो । उहाँले त्यसो नगरेर आफूले गल्ती गरेको छनक दिनुभयो ।’
आन्दोलनरत चिकित्सक, विद्यार्थी र कर्मचारीले मापसले गरेर उपकुलपति गिरीले असमान्य गतिविधि देखाएको भन्दै मंगलबार वार्तास्थलमै थुनिदिएका थिए ।
आन्दोलनरत पक्षले उपकुलपति गिरीको मापसे चेक गर्नुपर्ने अडान राखेका थिए । तर गिरीले मापसे चेक गर्न मानेनन् । ‘उहाँले मापसे चेक गर्न मान्नु भएन् । छ घन्टापछि यहाँबाट बाहिरिनुभयो,’ स्रोतले भन्यो । गिरी मंगलबार राति अबेर थुनिएको ठाउँबाट बाहिरिएका थिए । मदिराले गिरी मातिएको भन्दै आन्दोलनरत पक्षले नारावाजी पनि गरेका थिए ।
बिपी प्रतिष्ठानमा चिकित्सकलगायत दुई सातादेखि आन्दोलनमा छन् । आन्दोलनरत पक्षलाई गिरीले मंगलबार दिउँसो वार्ताका लागि बोलाए पनि मापसे गरेर लठ्ठ भएको भन्दै वार्ता भाँडिएको थियो ।

Leave a Reply

Your email address will not be published.