दमक,१४ असार । झापाको कमलमा यहि असार १६ गते वृत्ती परामर्श तथा रोजगार मेला सञ्चालन हुने भएको छ ।नेपाल सरकार र स्वीजरलैण्ड सरकारबीचको सम्झौता अनुसार सञ्चालनमा रहेको दिगो तथा सम्मानित रोजगारीको लागि सीप परियोजना अन्तर्गत रोजगारदाता र रोजगारको खोजीमा रहेका युवायुवतीहरुबीच समन्वयकारी भुमिका निर्वाह गर्न मद्धत पुरयाउने उद्धेश्यले कमल गाउँपालिकाले कमल उद्योग वाणिज्य संघसँगको सहकार्यमा आयोजना गरिने मेलाका बिषयमा गाउँपालिकाले बिहिबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।
हेल्भटास नेपालको प्राविधिक सहयोगमा कमल ३ स्थित केर्खामा रहेको केर्खा खैलामैदानमा बिहान ९ बजेदेखि ३ बजे सम्म सञ्चालन हुने मेलामा गाउँपालिकाको रोजगार शाखा, गाउँपालिकामा सञ्चालित प्राविधिक शिक्षालय, गाउँपालिकाका उद्यमी व्यवसायीहरुले उत्पादन गरेका उत्पादनहरु लगायतको स्टल रहने जनाइएको छ । त्यहाँ रोजगारको खोजीमा रहेका र प्राविधिक धारको बिषय पढन चाहने बिद्यार्थीहरुलाई राज्यका तर्फबाट उपलब्ध हुने सेवा सुविधा लगायतका बिषयहरुको बारेमा समेत जानकारी गराइने पत्रकार सम्मेलनमा जनाइएको छ ।
पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले गाउँपालिकाबासीलाई यो मेलामा सहभागी भएर आवश्यक जानकारी लिन आव्हान गरे । उनले कमलमा पहिलो पटक यस किसिमको मेला आयोजना भएकाले यसको विशिष्ट महत्व रहने पनि उल्लेख गरे ।
गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपानेले रोजगारका अवसरहरुको बारेमा सुसुचित गराउने मुख्य लक्ष्यसहित स्थानीय उत्पादनहरुको बजारीकरण र प्रवद्र्धनका लागि समेत यो मेला सहयोगी बन्ने विश्वास व्यक्त गरिन् । हेल्भटास नेपालका रामअवतार यादवले सीप सिक्न चाहने र आत्मनिर्भर बनाउने काममा यसले सहयोग पुरयाउने बताए । सो मेलाको उदघाटन जिल्ला समन्वय समिति झापाका संयोजक विश्व बरालले गर्ने जनाइएको छ । उक्त कार्यक्रम पालिकास्तरमा झापाको दमक र कमलमा आयोजना गरिएको र जिल्लाका चार वटा विद्यालयमा समेत प्राविधिक विषयमा सहयोग पुरयाँउदैआएको छ ।
दमकमा रोजगार मेला सम्पन्न
विहीबारनै दमकमा रोजगार मेला सम्पन्न भएको छ । मेलाको उद्घाटन दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले गरेका थिए । थापाले निजी क्षेत्रसँगको सहकार्यमा स्थानीय सरकारले धेरै कामहरु गर्न चाहेको बताए ।
त्यस्तै,उपप्रमुख रेगिना भट्टराईले दमकमा स्थानीय उत्पादित बस्तुहरुको बजारीकरणमा यसले ठुलो मद्धत पुगेको बताइन् । उनले दमकमा नगरपालिकाले कोशेली घर सञ्चालनमा ल्याएर स्थानीय उत्पादनहरुको प्रवद्र्धन गर्ने लक्ष्य राखिएको बताइन् । उनले प्राविधिक शिक्षा अहिलेको आवश्यकता भएको पनि उल्लेख गरिन् ।
दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाइँको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य गोकूल श्रेष्ठले पनि शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम संघका वरिष्ठ उपाध्यक्ष राजु खडकाको संयोजकत्वमा र प्रथम उपाध्यक्ष राजकुमार योङयाको सञ्चालनमा सम्पन्न भएको थियो । मेलामा विभिन्न स्कूल तथा कलेजका तीन सय बढी विद्यार्थी,रोजगारीको खोजीमा रहेका युवाहरु , सेवा तथा रोजगार प्रदायक उद्योग ,प्रतिष्ठानका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।