झापा , १४ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आजै प्रदेश सभामा विश्वासको मत लिदै छन्।प्रदेश सभा सचिवालयले बैठकको कार्यसूची प्रकाशन गरी मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव दर्ता गर्ने र निर्माणार्थ प्रस्तुत गर्ने कार्यसूची प्रकाशन गरेको छ । दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव दर्ता गर्ने तय भएको छ ।
प्रदेश सभाको तेस्रो अधिवेशनको आज बस्ने पहिलो बैठकमा सभामुखले अधिवेशन आह्वान सम्बन्धी पत्र वाचन गरेर सुनाउने छन् । त्यसपछि संविधानको धारा २०२ बमोजिम जारी भएको प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश र आर्थिक वर्ष २०८०र०८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश सभामा पेस गर्ने कार्यसूची छ ।
बैठकमा अध्यादेश पेस भएपछि नेपालको संविधानको धारा १८८ ९२० बमोजिम मुख्यमन्त्री कार्कीले विश्वासको मतका लागि प्रस्ताव पेस गर्नु हुनेछ । त्यसलाई सभामुखले निर्माणार्थ प्रस्तुत गर्ने कार्यसूचि छ ।सरकारमा सहभागी नेकपा माओवादी केन्द्रले जेठ २३ तथा जनता समाजवादी पार्टीले जेठ १७ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको हो ।
सरकार टिकाउनका लागि आवश्यक सांसद सङ्ख्या छैन । सरकारलाई निरन्तरता दिन उहाँलाई ४७ मत आवश्यक पर्छ । तर, मुख्यमन्त्रीसँग नेकपा एमालेको ४० र राष्ट्रिय प्रजातन्त्र पार्टीको ६ गरी ४६ सांसदको समर्थन छ । मुख्यमन्त्रीले प्रस्तुत गर्ने विश्वासको मत सम्बन्धी प्रस्ताव मत विभाजनमा जानु पूर्व नै ध्वनि मतबाट छलफलमा प्रवेश नै नगरी असफल पार्ने प्रयत्न विपक्षी गठबन्धनले गरिरहेको छ । नेकपा एमाले भने प्रस्ताव सिधै निर्माणार्थ प्रस्तुत गर्ने र मत विभाजन गराउने प्रयत्नमा छ ।