पथरी शनिश्चरे, ११ असार । मोरङको पथरी शनिश्चरे नगरपालिकाद्वारा सञ्चालित पथरी नगर अस्पतालको छैटौं स्थापना दिवसको अवसरमा निःशुल्क दन्त शिविर सञ्चालन गरेको छ ।
पथरी शनिश्चरे वडा नं. २ को स्थित नगर अस्पतालमा असहाय मानव सेवा समाज दमकको प्राविधिक सहयोगमा निःशुल्क दन्त शिविर सञ्चालन गरिएको हो ।
शिविरमा ९८ जनाले दाँत सम्बन्धी सेवा पाएका अस्पतालका प्रशासन प्रमुख याम खड्काले जानकारी दिए ।
वार्षिकोत्सवको अवसरमा अस्पताल कार्यरत उत्कृष्ट कर्मचारीका रुपमा एल्डिना गुरुङलाई सम्मान–पत्र, दोसल्ला र नगद रु. १० हजार पुरस्कार सहित सम्मान गरिएको छ ।
यसैगरी, अस्पताल सञ्चालनमा योगदान पुरयाँएको भन्दै मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारीका मेडिकल सुपरिटेन्डेन्ट डा. रविकुमार साहलाई समेत सम्मान गरिएको थियो। सोहि अस्पतालमा कार्यरत रही अन्यत्र सरुवा भई जाने कर्मचारीहरुलाई विदाई पनि गरिएको थियो ।
स्वास्थ्य शाखा प्रमुख मुरारीप्रसाद आचार्यका अनुसार अस्पतालमा हाल ६४ जना कर्मचारी कार्यरत रहेको तथा यस अस्पतालको ११ करोड ७९ हजार २ सय ४९ रुपैयाँ बराबरको आयव्यय सम्बन्धी वार्षिक बजेट पनि प्रस्तुत गरिएको थियो । उनले खर्चतर्फ १० करोड ४ लाख ४१ हजार ५ सय ६५ रुपैयाँ र हाल १ करोड ७४ लाख ८३ हजार ३ सय ३६ रुपैयाँ बचत रहेको जनाए ।
नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षतामा भएको सो कार्यक्रमको स्वागत मन्तव्य वडा नं. २ का वडाध्यक्ष एवं अस्पताल व्यवस्थापन समितिका सदस्य नैना राईले राखेका थिए । कार्यक्रममा पञ्चायत मावि वि.व्य.स. अध्यक्ष युवराज बाँस्कोटा, नेपाली कांग्रेसका नगर उपाध्यक्ष के.बी. गुरुङ, पूर्व नगर प्रमुख दिलिपकुमार राई (किशोर), संविधानसभा सदस्य चण्डीप्रसाद राई समेतले शुभकामना मन्तव्य राखेका थिए ।