झापा,१० असार । इलामकी कोरोना संक्रमित महिलाको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ । मृत्यु हुनेमा सूर्योदय नगरपालिका- १० फिक्कलकी ३९ वर्षीया सुनिता लामा रहेकी छन् । पछिल्लो चरणमा कोरोना संक्रमण फैलिएयता देशमै पहिलो पटक कोरोना संक्रमितको मृत्युभएको हो ।
अस्पतालका प्रबन्धक दिपेश राईका अनुसार मंगलवार विहान अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकी ती महिलाको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । मृतकको शव अस्पतालले र्यापिङ गरी आफन्तलाई जिम्मा दिएको प्रहरीले जनाएको छ ।
मृतक महिलालाई सात दिनअघिदेखि स्वास्थ्यमा समस्या थियो । श्वासप्रश्वासमा समस्या हुने र ज्वरो आउने समस्या बढेपछि सोमबार बिर्तामोडको बिर्तासीटी अस्पतालमा परीक्षण गरिएको थियो ।
परीक्षणका क्रममा कोरोना (कोभिड–१९) संक्रमण भएपछि थप उपचारका लागि विराटनगरको नोबेल अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा महिलाको मृत्यु भएपछि शवलाई प्रहरीको जिम्मा लगाइएको प्रबन्धक राईले जानकारी दिए ।
कोशी प्रदेशमा पछिल्लो समय कोरोना संक्रमित देखिरहेका छन् । प्रदेश स्वास्य मन्त्रालयका अनुसार कोशी प्रदेशमा ८ जनालाई कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये झापाका ४ जना र मोरङ तथा इलामका २–२ जना छन् ।