दमक,२ असार । स्थानीयको अगुवाईमा दमक ६ स्थित थानारोड हुदै वजार जाने सडक हरियाली वनेको छ । दमकको गोल्डेनगेट करिब ४ सय मिटर सडकको दुई किनार दुई वर्षमा स्वच्छसंगै हरियाली नमुना बनेको हो ।
सडकका दुई किनारमा व्यवस्थित फुटपाथसहित रेलिङमार्ग रहेको छ । सोही रेलिङमार्गमा गमलामा विभिन्न प्रजातिका फलफूल तथा बोटबिरुवाहरू हरियाली बनेर हुर्किरहेका छन् । अहिले त सडकको दायाँबायाँ नै हरित देखिँदा मनमोहक लाग्ने भएको स्थानीय सामाजिक अगुवा नन्दी अधिकारीले बताए ।
अहिले त मानिसहरू आएर सेल्फि खिच्ने गरेका छन् , शुरुवाती अभियानका बारेमा उनले हौसिदै भने , –‘ सुरुवातमा गमला राखेर बोटबिरुवा हुर्काउन निक्कै मुस्किल भएको पनि थियो, गमला नै चोर्ने, रोपेको बोटबिरुवा चोर्ने, गमला फुटाइदिने जस्ता कार्य भएपछि सिसी क्यामेरामा कैद भएका त्यस्ता हर्कतहरु सार्वजनिक गरेपछि अहिले त्यस्तो कार्य हुन छाडेको छ ।’
उनका अनुसार यस सडकलाई नमुना सडकको रूपमा विकास गर्नका लागि नगरपालिकाले पनि चासो दिएर बिजुलीका पोलहरूमा एउटै रङ्ग लगाउने, विद्युत पोलहरूमा हरियो बत्ती जडान गरेर साँझपख आकर्षक बनाउने कार्य पनि गरेको छ । हालसम्म नगरपालिका तथा स्थानीय सहयोगमा यस सडकलाई आधुनिक सडकका रुपमा विकास गर्न ५ सय बढी फूलका गमला राखिएका छन् ।
दमकका अन्य बाटा भन्दा सुन्दर र व्यवस्थित यस मार्गले सवैको मन जित्दै गएको उनको भनाई छ । बाटोमा पैदल मात्र होइन गाडीमा हिड्ने जोकोही यस सडकको आर्कषणले गर्दा हुने रहेछ भनेर भन्न थालेको थानारोड सडकका व्यवसायी गणेश ढकालले बताए ।
दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले दमक बजार क्षेत्रभित्रकै नमुना सडकको रूपमा यो विकास हुदै गएको बताउँछन् ।सडक किनारलाई हरित बनाउनका लागि आफूहरूले नगरवासीलाई बारम्बार अनुरोध गरेको आवश्यक सहयोग गर्ने पनि थापाले बताए । “बजार क्षेत्रभित्रका फराकिला सडकहरूमा हरियाली विकास गर्न सकिन्छ भन्ने यस सडक आसपासका स्थानीयले देखाउनु भएको छ” , उनको भनाई छ ।
‘औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध नगर’ नगरपालिकाको मुख्य नारा नै रहेको छ । यही सडकले छुने दमकको नमुना बजार भने पछिल्लो समयमा अस्तव्यस्त बनेको छ । सवारी साधन सञ्चालन गर्न नदिइने र हिँडडुल गर्नमात्र दिइने गरेको नमुना बजारमा आगलागी भएपछि सवारी साधन रोक्न बनाइएको संरचना भत्काइएपछि जथाभाबी रूपमा सवारीसाधन चल्दै आएका छन् ।