भद्रपुर,१ असार । किरात याक्थुङ चुम्लुङ भद्रपुर नगर शाखाको अध्यक्षमा पुनः मुना इजम कन्दङ्वा चुनिएकी छन् ।भद्रपुर- २ कमलधापस्थित युमाहिम सभाहलमा शनिवार सम्पन्न चुम्लुङ भद्रपुर नगर शाखाको चौथो अधिवेशनले पुनः मुनाको अध्यक्षतामा नगर शाखा चयन गरेको हो ।
१५ सदस्यीय सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा बिकेन्द्र मेन्याङ्बो, सचिवमा नरदीप योङहाङ, सह–सचिवमा चन्द्र तावा र कोषाध्यक्षमा पूर्णकुमार इङ्वासाम् चुनिएका छन् । यसैगरी सदस्यहरुमा पुनम मावो लिम्बू, विमला लिङदम, मिना पराङदेन्, रामप्रसाद ओख्राबो, डम्बर यङयाहाङ्, शान्ता थेबे, सन्तोष केदेम, सुकिन्द्र इजम, यशोदा हेल्लोक र अमृत नुगो लिम्बू निर्वाचित भएका छन् ।
अधिवेशनले महेन्द्र लावती, गणेश तेयुङ्, हेमा कन्दङ्वा, डिगबहादुर पदालुङ्, शेरबहादुर ताप्मादेन र गणेश पदालुङ रहेको सल्लाहकार समिति समेत गठन गरिएको छ ।
चुम्लुङ झापाका अध्यक्ष सेसेहाङ् फियाकको प्रमुख आतिथ्यतामा भएको अधिबेशन उद्घाटनमा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, भद्रपुर ८ का वडा अध्यक्ष मनोज (गौरव) लिम्बू, चुम्लुङ जिल्ला सदस्य मणिकुमार लिम्बू गौरव, बिकेन्द्र मेन्याङ्बो, जिल्ला सल्लाहकार महेन्द्र लावती, युमाहिम् याक्थुङ सङग्रहालयका अध्यक्ष काजीमान लिम्बू, सदस्य एनपि लिम्बू, भद्रपुर प्रहरी चौकीकी इन्चार्ज चन्द्रकुमारी चेम्जोङ्, तामाङ घेदुङ सङघका भद्रपुर अध्यक्ष वसन्त कुमार तामाङ लगायतले अधिवेशन सफलताको शुभकामना मन्तव्य राखेका थिए ।