गौरादह,३० जेठ । झापाको गौरादह नगरपालिकामा टोल विकास संस्थाका पदाधिकारीका लागि क्षमता विकास तालीम शुरु भएको छ । भिन्न मिडिया एण्ड रिसर्च प्रालि दमकको सहजीकरणमा शुरु भएको तालीममा गौरादहका टोल विकास संस्थाका पदाधिकारीहरु सहभागी रहेका छन् ।
तालीमको गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले उद्घाटन गरे । उद्घाटनका क्रममा उनले टोल विकास संस्था विकासका साझेदार रहेको तथा विकास योजना सञ्चालनमा टोलको महत्त्वपूर्ण भुमिका रहने बताए । टोल विकासको क्षमता अभिवृद्धि गरि योजना सञ्चालनमा सहभागी गराउने र त्यसका लागि टोल विकास संस्था अनिवार्य दर्ता हुनुपर्ने उनले बताए । गौरादह नगरपालिकाकि उपप्रमुख जलवर्षा राजंबशीले टोल विकास संस्थाहरु सक्रिय भए विकास योजनाहरुको सहि ढंगमा कार्यान्वन हुने बताइन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीले तल्लो इकाई टोल विकास संस्थालाई सक्रिय गराइ विकास निर्माणमा सहभागी गराइने बताए । भिन्न मिडियाका अध्यक्ष राजु पोखरेलको अध्यक्षतामा भएको तालीममा गौरादह जेसीजका पूर्व अध्यक्ष खड्ग थापाले सहजीकरण गरेका थिए । तालिम भोलि सम्म सञ्चालन हुने छ ।