दमक,३० जेठ । झापाको कमल गाउँपालिका वडा नम्बर २ ले आयोजना गरेको निःशुल्क दन्त शिविरमा ४ सय बढी विद्यार्थीहरूको दन्त परीक्षण गरिएको छ ।वडा कार्यालयले दमक -६ स्थित दमक थुलुङ डेन्टल क्लिनिकको प्राविधिक सहयोगमा शुक्रबार स्थानीय कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालयमा भएको शिविरमा विद्यार्थी,शिक्षकहरु गरि ४४५ जनाको दन्त परीक्षण गर्नुका साथैं आवश्यक स्वास्थ्य परामर्श प्रदान गरिएको थियो ।
शिविरमा दन्त सम्बन्धी थप उपचार गर्नुपर्ने लक्षित विद्यार्थीहरूलाई जाँचमा पूर्ण निशुल्क तथा अन्य उपचारमा ४० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको क्लिनीकले जनाएको छ ।
शिविरमा दमक थुलुङ डेन्टल क्लिनिककी डाक्टर सोफिया थुलुङ ,डा.हाङमा माखिम, डेन्टल असिस्टेन्ट निकिता घिमिरे र सरद राजवंशी लगायतको टोलीले प्राविधिक सहयोग पुरयाँएको थियो । शिविरमा दन्त चिकित्सक टोलीले विद्यालयका कक्षा कोठामा नै गएर दन्त सुरक्षा र परीक्षण, मुख स्वच्छता सम्बन्धी आधारभूत जानकारी समेत प्रदान गरिएको थियो ।
वडा कार्यालयले विद्यार्थीहरूलाई लक्षित गरि तीनवर्ष देखि स्कूल स्वास्थ्य कार्यक्रम सञ्चालन गरिआएको छ । सोहि कार्यक्रमलाई थप प्रभावकारी बनाउन दन्त परीक्षण कार्यक्रमलाई पनि सञ्चालनमा ल्याइएको वडाअध्यक्ष अशोक सुब्बाले बताए । मासिक रुपले वडाका सवै विद्यालयमा दन्त शिविर चल्ने उनले बताए । उनले विद्यार्थीमैत्री स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन वडा कार्यालय प्रतिवद्ध भएको जोड दिए ।
शिविर उद्घाटन कार्यक्रममा वडा सदस्यहरु महेन्द्र खत्री, सम्झना रणपहेली, कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालयका अध्यक्ष होमबहादुर बराल, प्रधानाध्यापक हिमप्रसाद दाहाल, कमल नगर अस्पतालका जनस्वास्थ्य निरीक्षक दिपक दाहाल, वडा कार्यालयका कर्मचारी दिपेन गिरी लगायत शिक्षक ,विद्यार्थी तथा अभिभावकहरुको उपस्थिति थियो।