दमक ,३० जेठ । दमकमा रहेको कञ्चनजंघा बहुउद्धेश्यीय सहकारी संस्था दमकले रक्तदान र दन्त शिविर लगायतका कार्यक्रम सम्पन्न गरेको छ ।संस्थाको २४ औं स्थापना दिवस तथा वार्षिकोत्सवका अवसर पारेर बुधबार दमक ८ स्थित आफनै कार्यालय परिसरमा रक्तदान,दन्त शिविर लगायतका कार्यक्रम सम्पन्न गरेको हो ।
कञ्चनजंघा सहकारीका शेयर सदस्य उर्लावारी निवासी स्व.हेमकुमार दाहालको दुर्घटना मृत्यु विमा वापतको ५लाखको चेक दाहालकी छोरी विनिसा दाहाललाई संस्थाका अध्यक्ष मणीकुमार भण्डारीले हस्तान्तरण गरे ।
दाहालको केही महिना अघि उर्लावारीको सुनचाँदी पसलमा आगलागी भएको वेला अरुलाई बचाउन जाँदा आगोमा परी हेमकुमारको मृत्यु भएको थियो ।
यसैगरी कञ्चनजंघाले ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान दमक ५लाई अन्तिम किस्ता ५० हजार रुपैयाँ सहयोग गरेको संस्थाको सञ्चालक समिति सदस्य प्रेम दंगालले जानकारी दिए ।
सो रकम प्रतिष्ठानका अध्यक्ष दुर्गा पौडेललाई अध्यक्ष भण्डारीले प्रदान गरेको थियो । नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाको प्राविधिक सहयोग रहेको कार्यक्रममा १४ महिला सहित ६७ जनाले रक्तदान गरेका थिए । त्यसैगरी कञ्चनजंघाले गरेको दन्त शिविरमा ३८ जनाले दन्त परीक्षण गरेको ब्यवस्थापक निलकण्ठ निरौलाले बताए । दन्त शिविरमा हिमाल डेण्टल क्लिनिक दमककी डा.रेसिका सुवेदीसहितको टोलीले सहयोग पुरयाँएको थियो ।