चालिस वर्ष पछि माइधार–दोमुखा सडक कालो पत्रे

शिवसताक्षी,२६ जेठ । झापाको शिवसताक्षीमा रहेको पूर्वकै प्रसिद्ध पर्यटकीय क्षेत्र दोमुखा सडक करिव चालीस वर्षपछि कालो पत्रे भएको छ । शिवसताक्षी नगरपालिका–१० स्थित माईधार–दोमुखा २९ सय मिटर लामो सडक कालो पत्रे भएको हो ।उक्त सडक शिवसताक्षी नगरपालिकाबाट विनियोजित ४ करोड २४ लाख ८३ हजार २४५ रकमबाट कालो पत्रे भएको बताइएको छ । जसमा शिवसताक्षी नगरपालिकाको रु २ करोड २४ लाख ८३ हजार २४५ रुपैयाँ र संघीय समपूरक कोषको रु २ करोड रकम रहेको छ । सडक ढलरहित ७ मिटर चौडाई कालोपत्रे भएको छ । जसमा तीनवटा बक्स कल्र्भड र दुई वटा ह्युमपाइप समेत निर्माण भएको छ ।
शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले माईधार –दोमुखा सडक कालो पत्रे गर्नका धेरै बाधा व्यवधानहरु बीच भएपनि कालो पत्रेको काम सम्पन्न भएको बताए । हाल कालो पत्रेको काम सम्पन्न भएको छ । सडकमा निर्माण भएका कल्भर्डहरु केही समय जाम गर्नु पर्ने भएकाले कल्भर्डको काममा समय लाग्ने नगर प्रमुख थोप्राको भनाई छ ।
शिवसताक्षीको माईधारदेखि दोमुखासम्मको उक्त सडक कनकाई सिँचाई आयोजनाले बिस २०३३ सालमा निर्माण गरेको थियो । त्यस पश्चात अहिलेसम्म उक्त सडकको स्तरन्नति हुन सकेको थिएन । करिव ४० वर्षपछि यस सडक कालोपत्रे भएको हो ।
कालो पत्रेको काम तोकिएको समय भित्रै निर्माण सम्पन्न गरेर सडक नगरपालिकालाई जिम्मा दिने निर्माण कम्पनी सतासी निर्माण सेवाले जनाएको छ ।शिवसताक्षी नगरपालिका वडा नं. १० का वडाध्यक्ष हर्क सिगुले निरन्तर खबरदारी र निगरानीका बीच सडक कालो पत्रे भएको बताए । माइधारबाट दोमुखा सम्म बाटो राम्रो नहुँदा यहाँ आउने पर्यटकहरुले सास्ती व्यहोर्नु परेको थियो । दोमुखा पर्यटकीय क्षेत्र जाने बाटो कालो पत्रे बनेपछि आन्तरिक तथा बाहय पर्यटकहरुको संख्यामा थप बृद्धि हुने अपेक्षा गरिएको वडाअध्यक्ष सिंगुले बताए ।

Leave a Reply

Your email address will not be published.