चुलाचुली,२४जेठ । इलामको चुलाचुली गाउँपालिकामा रहेका अव्यवस्थित बसोबास गर्ने २४ परिवार भूमिहीनहरुले बुधबार जग्गाको लालपूर्जा प्राप्त गरेका छन् । लालपुर्जा भूमिसुधार सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरीले लक्षित परिवारलाई हस्तान्तरण गरिन् ।
लालपूर्जा प्रदान गर्दै मन्त्री श्रेष्ठले आफू मन्त्री भएर लिएको उद्देश्य कार्यान्वयनको सुरुवात भएको बताईन् । मन्त्री श्रेष्ठले देशभरि भूमि आयोगले भूमिहीन तथा सुकुम्बासीहरुको सवालमा काम अघि बढाइरहेको बताउँदै अब लालपूर्जा उपलब्ध गराउने कामलाई तीब्रता दिने बताइन् ।
भूमि आयोगको जिल्लास्थित समितिले अघिल्ला आयोगहरुले गरेका अधुरा कामलाई पूरा गर्दै चुलाचुलीका अव्यवस्थित बसोबासीलाई लालपूर्जा उपलब्ध गराउने कामको थालनी भएको आयोगका जिल्ला अध्यक्ष भक्त केसीले बताए ।
जिल्ला कार्य समितिले अहिलेसम्म जिल्लाका दश पालिकामध्ये सूर्योदय नगरपालिका, माई नगरपालिका र रोङ गाउँपालिकामा भूमिहीनहरुले दिएको आवेदनअनुसार जग्गाको नापजाँच गरेर काम अघि बढाइएको जनाएको छ ।
यी तीन पालिकाबाट मात्र अव्यवस्थित बसोबासीहरुको तथ्याङ्क आएको र दलित सुकुम्बासी र भूमिहीन सुकुम्बासीको भने तथ्याङ्क आउन बाँकी रहेको आयोगको जिल्लास्थित विज्ञ सदस्य श्याम खड्गीले जानकारी दिए ।