दमक ,१८ जेठ । झापाको कमल गाउँपालिकास्थित कमल नगर अस्पताल र लखनपुर स्वास्थ्य चौकीलाई कुष्ठरोग संगती झापाले एक एक थान स्टिल दराज सहयोग प्रदान गरेको छ ।कुष्ठरोगीका लागि आवश्यक औषधी तथा औषधीजन्य सामग्री व्यवस्थित रुपमा राख्न सहयोग पुरयाउने उद्धेश्यले दराज उपलब्ध गराएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । ति दराज स्वास्थ्य संस्थाहरुमानै पुगेर कुष्ठरोग संगती झापाका कार्यक्रम संयोजक डिवी गुरुङ्गले हस्तान्तरण गरेका हुन् ।
कमल गाउँपालिकाका सबै वडामा गएको जेठ ७ गतेदेखि १२ गते सम्म कुष्ठरोग खोज पडताल कार्यक्रम सञ्चालन गरिएको थियो । सो कार्यक्रम अन्तर्गत तालिम प्राप्त स्वास्थ्यकर्मीहरु घर घरमा गएर कुष्ठरोगीहरुको पहिचानका लागि नमुना संकलन गरेको छ । यस अघि सो गाउँपालिकामा कूल १३४ जना कुष्ठरोगका बिरामीले नियमित औषधि सेवन तथा स्वयं हेरचाहमा संलग्न थिए । पछिल्लो समय नयाँ तीन जनासहित ६ जना कुष्ठरोगी भेटिएका र जेठ ६ गतेपछि नमुना संकलन गरिएकाहरुको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य शाखाका कर्मचारी दिपक दाहालले जानकारी दिए ।
संकलित नमुना ल्याबमा पठाइएको छ, फाइनल रिपोर्ट आएपछि हाम्रो गाउँपालिकामा पछिल्लो कुष्ठरोगीको संख्या यकिन हुन्छ, दाहालले भने ।