
दमक, १५ जेठ । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा अन्तरघात गर्ने नेता, कार्यकर्ताहरुलाई कारवाही गर्ने भएको छ । पार्टीका उम्मेदवारलाई असहयोग गरि अन्तरघात गर्ने नेता तथा कार्यकर्ताहरुलाई कारवाहीको सिफारिस गर्न थालिएको छ ।
कांग्रेस स्रोतका अनुसार झापाको गौरादहमा पार्टीले नराम्ररी पराजय व्यहोरेपछि त्यहाँ पार्टी सभापतिसहितका पाँच जना नेता ,कार्यकर्तालाई वडातहमा सिफारिस गरेको छ । गौरादह- १ कांग्रेस वडा समितिका सभापति इन्द्र गौतमको अध्यक्षतामा गत जेठ १४ गते बसेको बैठकले निर्वाचनको समिक्षा गर्दे नगर सभापति यादवराज सेढाईसहित चार जनालाई कारवाहीको सिफारिस गरिएको उल्लेख छ । यसरी कारवाहीको सिफारिस पर्नेमा सभापति सेढाई, इमानसिंह तामाङ,लिलानाथ पराजुली र बन्दना सेढाई रहेका छन् ।
सेढाईसहितका चार जनाले पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन भूमिका निर्वाह गरेको भन्दै पार्टीका उपल्लो तहमा सिफारिस गरिएको बताइएको छ । सेढाई त्यहाँ मेयरका आकांक्षी थिए । आफूले टिकट नपाएपछि यादवसहितका ती नेताहरु पार्टी विरुद्ध भित्र रुपमा सक्रिय भएको खुलेको छ ।
गौरादहमा कांग्रेसले यसअघि मेयरसहित तीन वटा वडा जितेको थियो । तर यस निर्वाचनमा भने माओवादीसहितको गठबन्धनबाट मेयरका साझा उम्मेदवार निर्वतमान मेयर रोहित साह नराम्ररी पराजित हुन पुगेको थिए । वडामा भने गौरादह २ मा गोपाल कोइराला र ६ मा तोया प्रसाई र गौरादह ८ मा माओवादीबाट गणेश राजवंशी निर्वाचित भएका थिए ।
निर्वाचनमा अन्तरघात गर्नेलाई वडाबाट सिफारिस भएपछि विधानअनुसार कारवाहीमा पर्ने कांग्रेस विधानमा उल्लेख छ ।
यसैगरि गौरीगञ्जमा पनि महाधिबेशन प्रतिनिधि निरज अग्रवाल, गौरीगन्ज गाउँपालिकाका निवर्तमान उपाध्यक्ष दिपेन्द्र थापासहितका केहि नेताहरु कारवाहीमा पर्ने भएका छन् ।