दमक,१५ जेठ । झापाको कमल गाउँपालिकामा यसवर्ष ३८ सय मिटर सडक कालोपत्र भएको छ । चालु आर्थिक बर्षको जेठको दोश्रो सातासम्म वडाका विभिन्न स्थानका ३८ सय मिटर सडकमा कालोपत्र निर्माण भएको गाउँपालिकाले जनाएको छ ।
पालिकाका इन्जिनीयर सागर यादवका अनुसार पालिका तथा प्रदेश सरकारको विनीयोजित वजेटमार्फत ३८ सय मिटर लामो कालोपत्र पूरा भएको हो । त्यसमा ४ करोड बढी खर्च भएको उनले बताए ।
पालिकाले चालु बर्षमा ४हजार ५ सय ७६ मिटर सडक स्तरन्नति गरि कालोपत्र गर्ने लक्ष्य राखेको थियो । लक्ष्य अनुसार कालोपत्र गर्ने योजना देशको तरलताले प्रभावित बनाएको उनको भनाई थियो ।
प्रदेशमार्फत कमल १ र ३ मा गरि दुई वटा र अन्य भने वडा तथा पालिकाको विभिन्न योजना अन्तर्गत भित्री बाटोमा कालोपत्र भएको इन्जिनियर यादवले जनाएका छन् । कमलमा गतवर्ष भने साढे ८ किलोमिटर सडक कालोपत्र भएको थियो । गतवर्ष भन्दा यसवर्ष पालिका भित्र करिव ५ किलोमिटर कमी कालोपत्र भएको इन्जिनियर यादवले बताए ।