लुटेराको आक्रमणबाट दमकमा बृद्धा घाईते

दमक,१२ जेठ । झापाको दमक -१० सानोबाह्घरेकी ८१ बर्षिया एक बृद्धालाई लुटेराले दिनदहाडै आक्रमण गरेर लुटपाट मच्चाएको घट्ना सार्वजनिक भएको छ ।स्थानीय खगमाया अधिकारीको घरमा आइतबार दिउँसो करिब २ बजेतिर कोहि नभएको मौका छोपेर वृद्धालाई कुटपिट गर्नुका साथै नगद तथा गरगहना लुटेर लगेको हो ।

लुटेराले भाग्ने बेलामा बृद्धा अधिकारीलाई देखेपछि भौतिक आक्रमण गरी घाईते बनाएर फरार भएको पीडित परिवारको भनाई छ । आक्रमणपछि खगमायाले टाउको धोएर ओछ्यानमा सुतिरहेको समयमा छरछिमेकीले देखेर सोधपुछ गर्दा मात्रै घट्नाबारे थाहा भएको बताइएको छ ।
लुटेराको आक्रमणबाट बृद्धा खगमायाको टाउको र अनुहारमा चोट लागेको उनका नाति विशाल अधिकारीले बताए । उनको हाल बिएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको छ । घाईते खगमायाले घट्नापछि आफन्तहरुसँग सामान्य बोलचाल गरेको बताइएको छ ।

अधिकारीका अनुसार लुटेराले घरमा कोही नभएको अनुमान लगाएर लुटेराले लुटपाट मच्चाएको र भाग्ने बेलामा बृद्धा (हजुरआमा) लाई देखेपछि आक्रमण गरेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । घट्नास्थलबाट लुटेराले एक थान आइफोन र एउटा ट्याब, एउटा सुनको औठी लगायतका सामान लगेको नाती विशालले बताए । घट्नाबारे जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय दमकका इञ्चार्ज रामप्रसाद तिम्सीना नेतृत्वको टोलीले घट्नास्थलमा पुगेर आवश्यक अनुसन्धान शुरु गरिसकेको छ । डिएसपी तिम्सिनाले घट्नाको सुक्ष्म अनुसन्धान शुरु गरिएको बताए ।

घरमा कोही नभएको अनुमान लगाएर आपराधिक मानसिकता भएकाले यो घट्ना गराएको हुन सक्ने अनुमान सहित प्रहरीले घटनामा संलग्नको पहिचान र खोजी कार्य शुरु गरेको डिएसपी तिम्सीनाले बताए ।

 

Leave a Reply

Your email address will not be published.