
–दिलीप श्रेष्ठ
भन्थे म कोरोना केहि पनि होइन
मेडिकल माफियाले चलाएको अफवाह हो।
भन्थे म कोरोना पूर्व योजना अनुसार
फैलाइएको रुघाखोकी सरहको संक्रमण हो।
मैले कहिल्यै मास्क लगाइन
स्वास्थ्य नियमहरुको पालना गरिन।
साथी संगी, भोज भत्तेर अनि
भिडभाडबाट कहिल्यै पछाडि हटिन।
समय बित्तै गयो जीवन चर्या
सहज र सरल रुपमा चलिरह्यो।
सबैसंग मेरो व्यवहार ठीक भएको महसुस गराउन
प्रत्यक्ष अप्रत्यक्ष मेरो प्रयत्न भईनै रह्यो।
कोरोना संक्रमणबाट मृत्यूवरण गरेको सुन्दा
अन्य रोगबाट ग्रसित भएकाले भन्थे।
मृतकको संख्या गणना गरिरहदा
अन्य रोगले यो भन्दा बढी मर्छन भन्थे।
अप्रत्याशित एक दिन टाउको दुख्यो घांटि समायो
मन झसंग भयो कतै मलाई कोरोना त भएन ?
तर कसैलाइ नभनि मन दह्रो पार्दै
मन मनै सोचे कतै यो मेरो भ्रम मात्र त होइन ?
ज्वरो पनि आउन थाल्यो
सिटामोलको प्रयोग गरी झारे ज्वरो।
मनमनै जिन्दगी र परिवारको माया जाग्यो
पिसिआर परीक्षण गर्ने चढ्यो पारो।
नतिजा आयो संगसंगै कोरोना पनि
आइसोलेसनमा बसे परिवारसंग टाढिए।
हेरचाह अनि औषधोपचारमा कुनै कसर बॉकि रहेन
दुर्भाग्य, निको हुनुको सट्टा अस्पतालको वास पाए।
क्षणक्षणमा श्वास प्रश्वासमा कठिन भइरह्यो
अक्सिजनको सहारा नलिइ जीवन नै नचल्ने भो।
धेरै दिनको कठिन अस्पताल बसाइपछि
नेगेटिभ पिसिआर नतिजासंगै अब बॉचे भनी ढुक्क भो।
जति सहज सोच्थे अरू संक्रमित हुंदा
तर त्यो मेरो भ्रम र अहंकार रहेछ।
वास्तविकता आफ्नै भोगाइले थाहा भो
यो त साच्चैको ज्यान मार्ने महामारी नै रहेछ।।
दमक-झापा