दमक ,९ जेठ । शारीरिक सुगठन (बल्डी विल्डीङ)की अन्तराष्ट्रिय खेलाडी रजनी श्रेष्ठले दमकमा बडी बिल्डर्सहरुलाई लक्षित गर्दैैै व्यवसाय सञ्चालनमा ल्याएकी छिन् ।सन २०१९ मा इन्डोनेशियामा भएको एशियाकप बल्डी बिल्डर्स प्रतियोगिताकी उपविजेता मोरङ ,मिक्लाजुङ निवासी श्रेष्ठले दमकमा ‘आरएस सप्लिमेन्ट’ सञ्चालनमा ल्याएकी हुन् । उनी बडी विल्डर्सहरुको अन्तराष्ट्रियस्तरको प्रतियोगितामा भाग लिने पहिलो महिला खेलाडी पनि हुन् । उनलाई सरकारले पुरस्कार तथा सम्मान समेत गरिसकेको छ ।
डेढ बर्ष अघि काठमाडौंको कमलपोखरीमा शुरु गरेको ‘आरएस सप्लिमेन्ट’ को पहिलो शाखाका रुपमा दमकको थाना रोडमा सो व्यवसाय सञ्चालनमा ल्याएकी हुन् । शारीरिक स्वस्थताको परिपूरकका रुपमा अन्तराष्ट्रिय जगतमा शारीरिक सुगठन अभ्यासलाई लिइने गरिएकाले पनि नयाँ पुस्ता यसतर्फ आकर्षित हुने क्रम बढदो छ । अहिले धेरै युवा साथीहरुको रुची बडिबिल्डर्समा रहेकाले उनीहरुको आवश्यकतालाई पूरा गर्न यो व्यवसाय विस्तार गरिएको श्रेष्ठको भनाई छ ।
सो सप्लिमेन्टमा बडी बिल्डर्स खेलाडीहरुका लागि आवश्यक सप्लिमेन्ट (खाद्य ) तथा पोशाक (युनिफर्म)हरु अमेरिकी ब्राण्डका भएको सञ्चालक श्रेष्ठका पति समिर श्रेष्ठले जानकारी दिए । उनले यहाँका युवाहरुको माग र आवश्यकतालाई मध्यनजर गर्दै सञ्चालनमा ल्याइएको सो सप्लिमेन्ट पसल दमकका लागि फरक र नौलो विशेषताको भएको जनाएका छन् ।
सो पसलको आज एक संक्षिप्त कार्यक्रमका बीच समिरकी आमा लक्ष्मीदेवी श्रेष्ठले औपचारिक शुभारम्भ गरिन् । त्यस अवसरमा मोरङ, मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बबी राईसहित युवा व्यवसायी तथा शुभचिन्तकहरुले समेत उल्लेख्य संख्यामा उपस्थित भएर सो व्यवसायको व्यवसायिक सफलताका लागि शुभकामना दिएका छन् ।