विराटनगर,८ जेठ । मोरङको विराटनगर महानगरपालिका ७ पिपल चोकमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ, कटहरी गाँउपालिका २ का २७ वर्षीय सागर भगतको रेडक्रस अस्पताल विराटनगरमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको हो ।
आइतबार राती साढे ११ बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ७६ प ७८४६ नम्बरको मोटरसाईकल आफैं अनियन्त्रित भई स्थानीय दयाराम सिलवालको घरको कम्पाउण्ड वालमा ठोक्किदा भगत घाईते भएका थिए । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
ट्याक्टरबाट लडेर १ जनाको मृत्यु
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ को भित्रि सडक खण्डमा ट्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ ।कुर्लेबाट झापातर्फ जाँदै गरेको को २ त ४६७६ नम्बरको ट्याक्टरमा सवार रहेका स्थानीय ५३ वर्षीय मकर ध्वज राई ट्याक्टरबाट लडेका थिए । आइतबार बेलुका ७ बजे ट्याक्टर लड्दा पछाडिको चक्काले उनलाई किचेको थियो । त्यसपछि उनको घटनास्थलमै मृत्यु भएको हो ।
घटनामा संलग्न ट्याक्टर चालक मानेभन्ज्याङ गाउँपालिका–६ ओखलढुंगाका ३० वर्षीय बलध्वज राईलाई नियन्त्रणमा लिएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ ।