राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउन झापा कांग्रेसको आग्रह

झापा, ७ जेठ । नेपाली कांग्रेस झापाले कार्यकारी प्रधानमन्त्री केपी शर्मा ओली र आलंकारिक राष्ट्रपति विद्यादेवी भण्डारीको मिलिभगतमा संविधान मास्ने र गणतन्त्र समाप्त पार्ने षड्यन्त्र भएको भन्दै आपत्ति प्रकट गरेको छ ।
कांग्रेस झापाले प्रधानमन्त्री ओलीको इसारामा राष्ट्रपति भण्डारी ‘नाचेको’ निष्कर्ष निकाल्दै संसदीय व्यवस्था र संविधान विपरीत गतिविधि नगर्न आग्रह समेत गरेको छ । कांग्रेस झापाले राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउन पार्टी केन्द्रीय समितिलाई लिखित आग्रह गर्ने निर्णय गरेको सभापति उद्धब थापाले बताए । सूचना, सञ्चार तथा प्रचार विभाग झापाको संयोजनमा कांग्रेस झापाले शुक्रबार सम्पन्न गरेको भर्चुअल बैठकले जिल्लामा रहेका पार्टीका सबै भवनहरु कोभिड निवारणका लागि सरकारलाई उपयोग गर्न दिने निर्णय गरेको छ । कांग्रेस झापाले कोभिडबाट ज्यान गुमाएका नेता,कार्यकर्ताप्रति श्रद्धाञ्जली र परिवारमा गहिरो दुःख व्यक्त गर्दै उपचाररत नेता कार्यकर्ताको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । कोभिड महामारीविरुद्ध लड्न पार्टीले जिल्ला तहमा सभापति थापा, क्षेत्रीय तहमा क्षेत्रीय सभापति र तहगत रूपमा सभापतिहरूको संयोजकत्वमा समिति निर्माण गरी नागरिकको घरदैलोमा पुग्ने निर्णय गरेको छ । पार्टीको क्रियाशील सदस्यताका विषयमा पार्टी केन्द्रको निर्देशन र तोकिएको कार्यतालिका अनुसार काम गर्ने निर्णय गरेको सभापति थापाले बताए ।

कांग्रेस झापा प्रवक्ता लोकराज ढकालले जिल्लाको कोभिड संक्रमणको तथ्यांक प्रस्तुत गरेको कार्यक्रममा प्रचार विभाग संयोजक कृष्ण हुमागाईंले संयोजन र सञ्चालन प्रचार विभाग सचिव राजेन्द्र गौतमले गरेका थिए । कार्यक्रममा जिल्ला पार्टी नेताहरू राम कट्टेल, देउमान थेवे, भगिरथ पोद्दार, केशवराज पाण्डेलगायतले बोलेका थिए । पालिका, प्रदेश निर्वाचन र क्षेत्रीय समितिका सभापतिले राय प्रस्तुत गरेको कार्यक्रममा सरकारको अकर्मण्यताको चर्को आलोचना भएको बताइएको छ । कांग्रेस झापाले सरकारको पछिल्लो गतिविधिले संविधान मास्ने र संसदीय व्यवस्थाकै धज्जी उडाएको ठहर गर्दै त्यस्ता हर्कत नरोकिए ज्यानको बाजी थापेर संघर्षमा उत्रन बाध्य हुने चेतावनी दिएको छ ।

Leave a Reply

Your email address will not be published.