दमक,७ जेठ । दमकका मोवाइल व्यवसायी कृष्ण खनालमाथि भएको कुटपिटको घटनामा प्रहरी अधिकारीहरुले माफी मागेका छन् ।इलाका प्रहरी कार्यालय दमकमा कार्यरत डिएसपी मनोजकुमार लामा र प्रहरी इन्स्पेक्टर देवानन्द मिश्रले माफी मागेका हुन् । दमक उद्योग वाणिज्य संघ र मोवाइल व्यवसायी संघका प्रतिनिधिहरुबीच पीडित खनालसँग आइन्दा त्यस्तो गल्ती नदोहोरयाउने प्रतिबद्धतासहित माफी मागेका हुन् । इन्स्पेक्टर मिश्रले खनाललाई मोवाइल चोरीको एउटा घटनामा अनुसन्धान गर्ने निहुँमा वास्तविक दोषीको पहिचान नगरी शनिबार बिहान करिब ९ बजे व्यवसायी खनालमाथि हातपात गरेका थिए । खनालले आफनो नागरिकता देखाउँदा समेत नागरिकता हेर्न इन्कार गर्दै मिश्रले एकोहोरो कुटपिट गरेका पीडितको आरोप छ ।
यसैबीच सो घटनाको बिषयलाई लिएर नेपाल उद्योग व्यवसायी महासंघ दमक नगर कमिटीले समेत विज्ञप्ती निकालेर सो घटनाको निन्दा गरेको छ । खनालले आफूमाथि अन्याय गर्ने प्रहरी अधिकारीले सार्वजनिक रुपमानै माफी मागेकाले क्षमा दिएको प्रतिक्रिया दिएका छन् ।