दमक,६ जेठ । झापाको दमक – चिसापानी सडक (फाल्गुनन्द मार्ग) को कालोपत्रे स्तरमा स्तरोन्नति गर्ने कार्यको ठेक्का लिएका निर्माण कम्पनीले काम अलपत्र पारी सम्पर्कविहीन भएका छन् ।
भेलबाढीको उचित निकास नगरी, जोखिमयुक्त गाउँ पूर्वसुरक्षा बिना नै बाटो कटिङ र ब्रेकर लगाई सडक अलपत्र बनाई निर्माण कम्पन्नी लुम्बिनी गणपती जेभी सम्पर्क बिहीन हुँदा स्थानीयहरू समस्यामा परेका छन् ।
सडक अलपत्र छोडी निर्माण कम्पनी अलपत्र हुँदा माङसेबुङको सिङ्गो गाउँ नै प्राकृतिक प्रकोपको उच्च जोखिममा परेको छ । वर्षा याम सुरु भएसँगै नयाँ कटिङको लेदो माटो डोलिएर आएको भेलबाढीले माङसेबुङ गाउँपालिका–३ स्थित मानपुर बजार र आसपासका वस्तीहरु जोखिममा परेको स्थानीय रोमियो राईले बताए ।सडक आसपासका माटोका खाल्डाखुल्डी र अस्थिर ढुङ्गा कुन बेला खस्ने पत्तो छैन् । सबैतिरको भेलबाढी कुद्ने ठाउँ नै सडक भएकाले स्थानीयहरू झन् त्रसित बनेका छन् ।
हिउँदका समयमा अत्याधिक धूलोको समस्या हुने सो सडकमा बर्खा याम सुरु भएसँगै हिलो र पहिरोको समस्याले आवतजावत गर्न निकै समस्या पर्न थालेको स्थानीय शिक्षक श्रवणकुमार राईले बताए ।
सडक आासपासमा निर्माणका लागि ल्याईएका रोलर, ग्रेडर, स्काभेटर, जेसीभी, टिफरलगायत थुप्रै उपकरणहरु देखिन्छन् । तर ती उपकणहरुमा खिया लाग्न थालिसकेको देखिन्छ । निर्माण कम्पनीले किन काम रोक्यो, कहाँ गए ठेकेदार भन्ने विषयमा स्थानीयहरू बेखबर छन् ।
‘निर्वाचनको बेला सडक बनाउने, बनाउन लगाउने थुप्रै आश्वासन पाइयो । तर आश्वासन दिनेहरु नै अहिले कता छन् थाहा छैन । वर्षैपिच्छे अब चाँही बाटो बन्ला कि भन्दै आस गर्दै, भर पर्दै बसियो’ स्थानीय फोमी भ्यू एण्ड होटलका सञ्चालक रोशन राई बन्छन्, ‘यसरी नै हो भने त बाटो बन्ला जस्तो देखिएन ।’
यता माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले निर्माण कम्पनी आफूसँग सम्पर्कमा नरहेको बताए । ‘दुई महिना अगाडिसम्म सम्पर्कमा रहेपनि अहिले सम्पर्कमा छैन् । तर सम्पर्क गर्ने निरन्तर प्रयास गरिरहेको छु’ अध्यक्ष राईले भने, ‘लथालिङ्ग सडकको कारण तल्लो क्षेत्रका वस्तीका खानेपानी आयोजनामा समेत क्षति पुगेकाले सबै मिलेर ठेकेदार र सम्बन्धित निकायमा खबरदारी गर्नुपर्ने देखिएको छ ।’
लुम्बिनी गणपती जेभी नयाँबानेश्वर, काठमाडौंले ५९ करोड १५ लाख ३५ हजार आठ सय ३४ रुपैयाँ (भ्याट र पिएससहित) मा सडक कारोपत्रे स्तरको स्तरोन्नति गर्ने कार्यका लागि २ फागुन २०७६ मा सरकारसँग सम्झौता गरेको थियो । सम्झौतामा २ फागुन २०७९ मा नै काम सम्पन्न गर्नुपर्ने उल्लेख छ ।
तर यतिका समय वितिसक्दा समेत काम सम्पन्न गर्नु त होइन, अलपत्र पारेर निर्माण कम्पनी सम्पर्कविहीन भएपछि सडकको हवस्था झन् विकराल हुँदै गएको छ ।