दमक,४ जेठ । दमक नगरपालिकाका पूर्वप्रमुख इन्द्रबहादुर बुढाथोकीको निधन प्रति नगरपालिकाले आज स्थानीय शोक विदा दिएको छ । नगर प्रमुख रामकुमार थापाले जारी शोक वक्तव्यमा स्व. बुढाथोकीको निधनमा आज अत्यावश्यक बाहेक नगरपालिकासहित वडा कार्यालयहरु विदा रहने उल्लेख गरेका छन् । स्व. बुढाथोकीले दमकको विकासका लागि पुरयाँउनुभएको योगदान सदैव स्मरणीय रहने नगर प्रमुख थापाद्धारा जारी विज्ञप्तिमा जनाईएको छ ।
दमक -५ निवासी पूर्व नगर प्रमुख बुढाथोकीको ७२ बर्षको उमेरमा हिजो शुक्रवार असमायिक निधन भएको थियो । उनी मुटु ,मिगौला लगायतका समस्याबाट पीडित थिए ।
नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार समेत रहेका बुढाथोकीको पार्थिव शरीर नगरपालिका परिषरमा श्रद्धाञ्जलीका लागि राखी दिउँँसो कन्काई नदीमा अन्त्येष्टि गरिएको थियो ।
बहुदल आएपछि २०४९ सालको पहिलो स्थानीय तहको निर्वाचनमा उनी नेकपा एमालेका तर्फवाट दमक नगर प्रमुखमा निर्वाचित भएका थिए । उनका श्रीमती, एक छोरी र दुई छोरा छन् ।
अन्त्येष्टि कार्यक्रममा कोशी प्रदेश सरकारका खानेपानी मन्त्री एकराज पाठक, पूर्वसांसद नरेश खरेल, संविधानसभा सदस्य रबिन कोइराला, एकीकृत समाजवादीका केन्द्रीय सदस्य नीलमणी बराल, नेकपा (एकीकृत समाजवादी) झापाका इन्चार्ज जीवनकुमार श्रेष्ठ, पार्टी जिल्ला अध्यक्ष बिपी भट्टराई, पूर्वसांसद पुष्पराज पोख्रेल, संविधानसभा सदस्य दीपक कार्की, प्रदेश सांसद होमबहादुर थापा, कोशी प्रदेशका पूर्वसांसद अर्जुन राई, नगर प्रमुख राम थापा, उपप्रमुख रेगिना भट्टराई प्रसाई, एकीकृत समाजवादी झापाका सचिव सानुकुमार लामा लगायतका नेताहरु, सर्वसाधारणहरु मलामीजनहरुको उपस्थिति रहेको थियो ।