दमक,३ जेठ । दमक- ८ स्थित राष्ट्रिय बहुमुखी सहकारी संस्थाले शनिवार आयोजना गरेको रक्तदानमा ५४ पिन्ट रगत संकलन भएको छ । संस्थाले आफनो बार्षिक कार्यक्रम अनुसार यसवर्ष आयोजित रक्तदानमा १३ महिलासहित ५४ जनाले रगतदान गरेका हुन् ।
सहकारीको आफनै कार्यालयमा आयोजित रक्तदानमा सञ्चालक समितिका सदस्यहरु पारषमणि राई ,बिष्णु सुब्बा, राजन लिम्बू, शेयर सदस्य तथा प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ सुमित्रा वाङदेल (चेली), कर्मचारीहरु सुर्या तामाङ,चन्द्रबहादुर कन्दङवा ,राजन केसी ,कमल नगर अस्पतालका प्रमुख दिपक दाहाल, शिक्षक ओमप्रकाश गौतम,सर्वेश्वरी साकोसका व्यवस्थापक उत्तम राई लगायतले रगतदान गरेको कार्यक्रम संयोजक पारषमणि राईले बताए । रक्तदाता मध्ये गौतमको यो ४८ औ हो ।
संस्थाका अध्यक्ष लछुदास राईको अध्यक्षता तथा दमक- ८वडाका अध्यक्ष धर्मप्रसाद दाहाल ( दिपेश ) को प्रमुख आतिथ्यतामा भएको रक्तदानमा सहभागि रक्तदाताहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।
रक्तदानमा संस्थाका शेयर सदस्य, सर्वसाधारणहरुको उल्लेखीय उपस्थिति रहेको थियो । नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाको रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको रक्तदानमा रक्तसञ्चारका प्राविधिक टोलीलाई रेडक्रस अंकित टिसर्ट समेत प्रदान गरिएको थियो । रक्तदान उद्घाटन कार्यक्रमको सञ्चालन संस्थाका सचिव दिपेनवाला राईले गरेका थिए ।
संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान जीवनदान भन्ने सन्देसका साथ बर्षेनी रक्तदान कार्यक्रम सञ्चालन गरिआएको छ ।