कमल ,२५ बैशाख । झापाको कमल गाउँपालिका -६ गुहाबारीमा रहेको वाणी माविले पहिलोपटक चालू शैक्षिक सत्रदेखि पूर्व प्राथमिक तहमा अंग्रेजी माध्यमबाट पठनपाठनको तयारी गरेको छ ।
निजी बिद्यालयहरुसँगको प्रतिस्पर्धाका कारण ओझेलमा परिरहेका सामुदायिक बिद्यालयहरुमा समयसापेक्ष अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गर्ने तयारी गरेको हो । यससँगै बिद्यालयमा बोर्डिगं स्कूलमा पढिरहेका बिद्यार्थीहरु सो बिद्यालयमा भर्ना हुन आएका छन् ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष अरुण भण्डारीले बिद्यालयको शैक्षिक गुणस्तर बढाउँदै सामुदायिक बिद्यालयप्रतिको आकर्षण बढाउन आफैले यसै शैक्षिक सत्रदेखि दमकको एक बोर्डिङ स्कूलबाट छोरालाई सोही बिद्यालयमा स्थानान्तरण गरेको बताए ।
अध्यक्ष भण्डारीले गाउँपालिकाले बिद्यालय व्यवस्थापन समिति, जनप्रतिनिधी , शिक्षक र पालिका मातहतका कर्मचारीका छोराछोरीलाई सामुदायिक बिद्यालयमै भर्ना गर्न आव्हान गरेपछि त्यसको सकारात्मक प्रभाव बिद्यालयमा परेको बताए । उनका अनुसार बिद्यालयमा अहिले सम्म ५० जना हाराहारीमा नयाँ बिद्यार्थी बोर्डिङ स्कूल छोडेर भर्ना हुन आएका छन् । यो संख्या जेठको पहिलो साता सम्ममा १०० नाघ्ने अनुमान गरिएको अध्यक्ष भण्डारीले बताए । उनले बिद्यालयमा अंग्रेजी माध्यम सञ्चालनका लागि नयाँ दक्ष शिक्षकको आवश्यकता खडकिएपछि हालसालै त्यसको परिपूर्ति समेत आन्तरिक स्रोतबाट भएपनि गर्ने गरि प्रकृया अघि बढाइएको बताए ।
सो बिद्यालयमा हाल करिब २०० बिद्यार्थी पुगेका छन् । अघिल्लो बर्ष यथार्थमा १५२ बिद्यार्थी रहेको पाइएको छ । त्यसैगरी सो गाउँपालिकाको वडा नं ७ बिष्णुकठठास्थित सिहंदेवी आधारभूत बिद्यालयले केही बर्ष अघिदेखिनै अंग्रेजी माध्यमबाट पढाई शुरु गरेपछि बिद्यार्थीको संख्या ह्वात्तै बढेको प्रधानाध्यापक इन्दिरा खनाल दाहालले बताइन् । उनका अनुसार बिद्यालयमा यो बर्षपनि नजिकैका बोर्डिगं स्कूल छोडेर बिद्यार्थीहरु आउने क्रम चलिरहेको छ । सो बिद्यालयमा अघिल्लो बर्ष २५० को हाराहारीमा बिद्यार्थी संख्या रहेको थियो । भर्ना अभियान चलिरहेको छ यो बर्ष पनि बिद्यार्थी थपिइरहेका छन हेरौं कति संख्या कायम हुन्छ केही दिनमा बिद्यार्थी संख्या यकिन हुन्छ प्रधानाध्यापक खनालले भनिन ।
गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले राज्यको लगानी रहेको सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर उकास्दै यसमाथि आम अभिभावक र बिद्यार्थीहरुको विश्वास बढाउन गाउँपालिकाले चालू शैक्षिक सत्रदेखिनै नयाँ रणनीति अपनाएको बताए । उनले स्थानीय सरकारको स्रोत र साधनले मात्रै सामुदायिक बिद्यालयको पूर्वाधार र जनशक्ति व्यवस्थापन गर्न कठिन हुने भएकाले माथिल्लो तह सम्म आवश्यक प्रकृया अघि बढाइएको जानकारी दिए । उनले सामुदायिक बिद्यालयको शिक्षाका लागि स्थानीय सरकारले आगामी बजेट तथा कार्यक्रममा प्राथमिकता दिने पनि बताए ।