मोरङ,२० वैशाख । नेपाल पत्रकार महासंघ मोरङले जिल्लाका अग्रज पत्रकारलाई सामूहिक रुपमा सम्मान गरेको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर आज बुधवार मोरङका १२ जना अग्रज पत्रकारलाई सम्मान गरेको हो ।
दुई दशक भन्दा बढी समय पत्रकारिता गरेका र ६० वर्ष उमेर पुगेका अग्रज पत्रकारलाई सम्मान गरेको महासंघ मोरङ अध्यक्ष सञ्जिव खनालले जानकारी दिए ।सम्मानित हुनेहरुमा मिथिला उपाध्याय, शिवबहादुर कार्की, ऋतुवर्ण पराजुली, दुर्गाप्रसाद खतिवडा, केशवबहादुर कार्की, मोहन भण्डारी, दीपक दाहाल, तेजेन्द्र भण्डारी, प्रभासचन्द्र झा र देवी पन्थी छन् ।
सम्मानितमध्ये कार्की, भण्डारी र दाहाल नेपाल पत्रकार महासंघ मोरङका पूर्वअध्यक्ष हुन् । उनीहरूलाई कोशी प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्कीले कदर पत्र, दोसल्ला र नेपाल पत्रकार महासंघको लागो भएको मेडल प्रदान गरे ।