बिर्तामोड, १९ बैशाख । विर्तामोड नगरपालिका वडा न ५ मा लिम्बू भाषा याक्थुङ् पास्न् अनौपचािरक कक्षा शुरु गरिएको छ । विर्तामोडस्थित बेवीलैण्ड स्कूलमा शनिवार अनौपचारिक कार्यक्रमको आयोजना गरि लिम्बू भाषाको अनौपचारिक कक्षा सञ्चालन शुरु गरिएको हो ।
किरात याक्थुङ् चुम्लुङ् महिला समूह विर्तामोड ५ इन्द्रेणीको आयोजनामा शुरु भएको उक्त भाषिक कक्षा महिनाको ४ दिन प्रत्येक शनिवार सञ्चालन गरिनेछ भने भाषा कक्षाको पठन पाठन र सहजीकरण लिम्बू भाषा साहित्यकार पुष्पहाङ् लोवाले गरिआएका छन् ।
उक्त भाषिक कक्षा सञ्चालन सम्पन्न गर्न कियाचु महिला समूहले आन्तरिक रूपमा स्रोत साधन जुटाएका छन् । अनौपचारिक कक्षामा स्थानीय लिम्बू भाषीहरू दुई दर्जनको सहभागिता रहेको भाषा शिक्षक लोवाले बताए ।
किरात याक्थुङ् चुम्लुङ् महिला समूह वडा न ५ इन्द्रेणी टोलकी अध्यक्ष मानुदिङ् पवित्रा तेयुङ् लावतीको अध्यक्षतामा सम्पन्न भाषा प्रशिक्षण उदघाटन कार्यक्रममा विर्तामोड ५ का वडा अध्यक्ष राजेन्द्र लिङ्देन, कियाचु विर्तामोड नगर शाखा अध्यक्ष हिमालय प्रकाश कन्दङ्वा, शर्ण लोवा, प्रकाश लिङ्देन, मनबहादुर सङ्बो, गंगा कन्दङ्वा काम्बाङ् लगायतले शुभकामना मन्तव्य राखेका थिए ।