इटहरी,१६ बैशाख । सुनसरीको इनरुवाका एकै परिवारका ७ जना सदस्य कोरोना संक्रमित भएका छन् । इनरुवा नगरपालिका–३ का एकै परिवारका सबै सदस्य कोरोना संक्रमित भएका र संक्रमित मध्ये बुधबार होम आइसोलेसनमा बसेकी वृद्धाको भने मृत्यु भएको छ ।
कोरोना पोजेटिभ देखिएपछि होम आइसोलेसनमा बसेकी ८४ वर्षीय वृद्धाको मृत्यु भएको वडा अध्यक्ष कालुराम गुरुङले जानकारी दिए ।
गुरुङका अनुसार नोबेल मेडिकल कलेजमा पिसिआर जाँच गर्दा ८४ वर्षीय वृद्धासँगै परिवारका सबै सदस्यलाई कोरोना देखिएको थियो । घरमा बसेकी वृद्धाको बुधबार बेलुका मृत्यु भएको हो ।
वृद्धाका छोराको स्वास्थ्यमा पनि गम्भीर समस्या देखिएका पछि अस्पतालमा भर्ना गरिएको छ । वडा अध्यक्ष गुरुङले गम्भीर समस्या देखिएकाको विराट मेडिकल कलेजको कोभिड युनिटमा अहिले उपचार भईरहेको छ । उनका अनुसार परिवारका पाँच सदस्य भने होम आइसोलेसनमै छन् ।