दमक,१५ बैशाख । .दमकका एक जना वडाध्यक्षसहित ७ जनामा कोरोना संक्रमण देखिएको छ । दमक २ का वडाध्यक्ष प्रजापति सापकोटासहित सात स्थानीयमा संक्रमण पुष्टि भएको हो । मंगलबार जिल्लाको सुरुङगाको कोटिहोमस्थित कोरोना परीक्षण प्रयोगशालामा स्वाव दिएका उनको रिपोर्ट आज पोजिटिभ देखिएको हो । कोरोना परीक्षण गराउन जानु अघि मंगलबार सापकोटा दमकमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धिको नगरस्तरीय समन्वय समिति बैठकमा सहभागी भएका थिए । उनले आज साँझ करिब ६ बजे मात्रै रिपोर्ट पोजिटिभ भएको जानकारी आफूले पाएको बताएका छन । सापकोटालाई खोेकी, जिउ दुख्ने लगायतका समस्या रहेको र अस्पताल पुगेर आवश्यक औषधि लिई चिकित्सकहरुको सल्लाहमा होम आइसोलेसन बसेको उनले जानकारी दिए । जिल्लामा आज ५० जनामा संक्रमण पुष्टि भएको थियो ।
दमकमा ४५ सक्रिय संक्रमित
यसैगरि नगरपालिकाले आज विज्ञप्ति निकालेर दमकमा चैत २५ यता नयाँ भेरियन्टवाट ४९ जना संक्रमित भएका छन् । त्यसमध्ये एक बृद्धको ज्यान गएको र दुई जना निको भएको नगरपालिकाले जनाएको छ । ती मध्ये २२ महिला र २३ पुरुष गरि ४५ सक्रिय संक्रमित रहेका छन् ।
