दमक,१४ बैशाख । माता तीर्थ औंशीका अवसरमा दमक- ८ स्थित पूर्वाञ्चल मन्टेश्वरी स्कूलले आइतवार विभिन्न कार्यक्रम गरि मनाएको छ ।चाडपर्व,कला,संस्कृतिहरुमा फरक किसिम कार्यक्रम गरिआएको स्कूलले यसवर्षको आमाको मुखहेर्ने दिनलाई बालबालिका विशेष रुपमा मनाएका छन् । बिद्यालयले बिद्यार्थीका आमा अभिभावकहरुसँग माता औंशीको महत्व उजागर गर्न विभिन्न उत्प्रेरणामूलक कार्यक्रम गरि मनाईएको प्रिन्सीपल सविता पोख्रेलले बताईन् ।
उनले बिद्यार्थीहरुलाई आफ्ना मौलिक चाडपर्व र संस्कृतिहरुका बारेमा समेत प्रयोगात्मक विधिबाट सिकाउने उद्धेश्यले यसपर्ष पनि आमाको मुख हेर्ने कार्यक्रम गरिएको बताईन् ।
उनका अनुसार विद्यालयमा बालबालिका तथा अभिभावकहरूसँग विविध सांगीतिक कार्यक्रम , मायाको चिनो आदनप्रदान गर्दै माता तिर्थ औंशी मनाइएको हो ।
माता तीर्थ औँसी विशेष कार्यक्रममा बालबालिकाहरूले आफ्ना अभिभावकहरुलाई मिठा परिकारहरु खुवाएर पूजा गरी टीका लगाई विशेष उपहार समेत दिएर सम्मान गरेका थिए ।
सो अवसरमा विद्यालयका संस्थापक निर्देशक माधव भट्टराईले शुभकामना दिँदै माता औंशीको महिमाबारे जानकारी गराएका थिए ।
अभिभावकहरुको तर्फबाट त्रिलोचन पोखरेलले यस्ता कार्यक्रमहरूले बालबालिका र अभिभावक बीच झन् प्रगाढ सम्बन्ध कायम राख्ने साथै आफ्ना परम्परा र संस्कार, संस्कृति बारे पनि भावी पुस्तालाई ज्ञान बढ्ने भन्दै प्रशंसा गरे । सो बिद्यालयका अभिभावक गोविन्द निरौलाले बालबालिकाहरुमा यस खाले कार्यक्रमका माध्यमबाट चौतर्फी ज्ञानको बिकासमा मद्धत पुग्ने औल्याए ।
कार्यक्रममा विद्यालयका शिक्षकशिक्षिकाहरु,विद्यार्थीहरु, अभिभावकहरु लगायतको उपस्थिति रहेको थियो । दमकका उत्कृष्ठ विद्यालयहरुको सूचिमा पर्न सफल यस पूर्वाञ्चल मन्टेश्वरीमा कक्षा ८ सम्म पठनपाठन गर्देआएको छ ।