दमक ,५ बैशाख । प्रतिनिधिसभा सदस्य एवं नेपाल उद्योग व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष एलपी साँवा लिम्बूले व्यवसायीहरुलाई तनावमुक्त भएर बलियो आत्मबलका साथ आफनो क्षेत्रमा क्रियाशील हुन आग्रह गरेका छन् । बैंक तथा वित्तिय संस्थाहरुबाट कर्जा लिएका व्यवसायीहरु एकपछि अर्को गर्दै आत्महत्याको बाटोमा अघि बढनु दुखद भएको साँवाको भनाई छ ।
महासंघको दमक नगर कमिटीले दमकमा आज आयोजना गरेको नयाँ बर्ष विशेष शुभकामना आदनप्रदान तथा क्यालेण्डर विमोचन कार्यक्रममा बोल्दै सांसद साँवाले आत्महत्या समस्या समाधानको विकल्प नभएको बताए । उनले ऋण भन्दा ठुलो आफनो जीवन र परिवार भएको यथार्थलाई आत्मसाथ गर्न पनि सुझाए ।
आर्थिक मन्दीको कारण व्यापार व्यवसाय अहिले सुस्त रहेको अवस्थामा व्यवसायीहरुले कर्जा तिर्न नसक्ने अवस्था सिर्जना भएका कारण बजारमा सुधार आएपछि व्यवसायीहरु आफैं कर्जा तिर्न तयार हुनुपर्ने उनले सुझाए । उनले भने, –‘अहिलेको परिस्थितीमा व्यवसायीहरुले ऋण बिर्सिएर परिस्थितीमा सुधार आएपछि इमान्दारितापूर्वक ऋण तिर्न व्यवसायीहरुलाई आग्रह गरे । साँवाले व्यवसाय गर्दा नक्कल गर्ने अभ्यासमा परिवर्तन ल्याउन र नयाँ सोचाईका साथ अघि बढन पनि ब्यवसायीहरु लाग्नुपर्छ । ’
महासंघका कोशी प्रदेश कमिटी अध्यक्ष गणेश बस्नेतले सो संगठनले सुखी नेपाली समृद्ध नेपालको सपना साकार बनाउन महासंघले ल्याएका कार्यक्रमहरु सार्थक हुने चर्चा गरे । उनले दमकमा सो संगठनले सदस्यता विस्तार तथा व्यवसायिक हित कोषका अवधारणा ल्याउनुपर्ने सुझाव राखे । उनले सो कोषमा आफनो तर्फबाट ५१ हजार रुपैयाँ प्रदान गर्ने पनि घोषणा गरे ।
कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटी सदस्य अम्बिका प्रसाद खनाल, महासंघकी मोरङ जिल्ला सचिव सम्झना खतिवडा आचार्य, दमक ६ का वडाध्यक्ष टेकबहादुर थापा लगायतले पनि शुभकामना मन्तव्य राखेका थिए । महासंघका नगर कमिटी अध्यक्ष रमेश लुइँटेलको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष लोकनाथ सापकोटाले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको सञ्चालन सचिव निरोज आचार्यले गरेका थिए । अध्यक्ष लुइँटेलले निकट भविष्यमानै महासंघले दमकमा सञ्चालन गर्ने दुई बर्षे कार्ययोजना सार्वजनिक गर्ने जानकारी गराएका छन् ।