दमक,४ बैशाख । झापा ,दमक- ९ का नरप्रसाद सिटौलाको परिवारले कन्काई मुक्तिघाटमा पारिवारिक खर्चमा पितृहरुको स्मृतिमा खानेपानीको व्यवस्थासहित चार कोठे पक्की स्नान गृह र दुई वटा चिताहा निर्माण गरिदिएका छन् ।
नरप्रसाद र उनकी धर्मपत्नी सावित्रादेवी, छोराबुहारी, छोरी ज्वाइँ नाती नातिनासहितले करिब १४ लाख रुपैयाँको लागतमा निर्माण गरिदिएको सो स्नान गृहको सोमबार मुक्तिघाटमा आयोजित संक्षिप्त कार्यक्रममा मुक्तिघाट निर्माण तथा व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ ।
नवनिर्मित सो चार कोठे पक्की भवनमा महिला पुरुषका लागि अपागं मैत्री छुटटा छुटै स्नान गृह र खानेपानीको धारा समेत जडान गरिएको छ । निर्माणकर्ता परिवारका सदस्य टंक प्रसाद सिटौलाले पितृहरुको उद्धारको कामना गर्दैै कन्काई मुक्तिघाटमा दाहसंस्कारका लागि आउने किरियापुत्री एवं मलामीजनको सहजताका लागि पारिवारिक सल्लाह अनुसार सो कार्य गरिएको बताएका छन् ।नवनिर्मित भवनको दाता परिवारका मुली नरप्रसाद सिटौलाले कन्काई मुक्तिघाट निर्माण तथा व्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर बस्नेतलाई हस्तान्तरण गरेका छन् ।
सो अवसरमा अध्यक्ष बस्नेतले दाता परिवारका तर्फबाट मुक्तिघाट व्यवस्थापनमा सहजताका लागि निर्माण गरिदिएको संरचना समाजका लागि उदाहरण बनेको चर्चा गरे । संस्थाले दाता परिवारहरुको उचित मूल्याकंन गर्ने पनि उल्लेख गरे । सिटौला सेवा समाजका झापा अध्यक्ष प्रेमप्रकाश सिटौलाले दाता परिवारले सार्वजनिक हितका लागि गरेको सो योगदानको प्रशंसा गरे ।