दमक,३ बैशाख । झापा,क्षेत्र नं ५ प्रदेश सभा (२ ) का प्रदेश सभा सदस्य होमबहादुर थापाले कमल गाउँपालिका -७ मा निर्माणाधीन विभिन्न योजनाहरुको अनुगमन गरेका छन् ।
उनीसहित कमल -७ का वडाअध्यक्ष पृथीपति राईसहितका जनप्रतिनिधिहरु,नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य भीमराज लिम्बू, कमल गाउँपालिकाका पूर्व उपाध्यक्ष बेणु शिवाकोटी, बिष्णुकठ्ठा टोल विकास संस्थाका अध्यक्ष अरुण गुरुङलगायतको टोलीले कमल -७ को विष्णुकठ्ठास्थित सिंहदेवी आधारभूत विद्यालयमा निर्माणाधीन घेराबेरासहित त्यहाँ हालै मात्र निर्माण सम्पन्न योजनाको समेत अनुगममन गरेका हुन् ।
त्यसक्रममा प्रदेश सांसद थापालाई विद्यालयमा भईरहेको योजनाका बारेमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमनाथ तिम्सीना, सदस्य सन्तोष राईले जानकारी गराएका थिए । सदस्य राईका अनुसार अहिले प्रदेश सरकारको रु १० लाख बिनीयोजित वजेटबाट विद्यालयमा पक्की घेराबेराको काम अन्तिम चरणमा पुगेको छ । प्रदेश सांसद थापाले विद्यालयमा राष्ट्रपति शैक्षिक कार्यक्रममार्फत निर्माण भएको आइसीटी भवन ,ल्याव कक्षको समेत निरीक्षण गरेका छन् ।
निरीक्षणका क्रममा सांसद थापासमक्ष विद्यालय समितिले विद्यालयको थप भौतिक तथा शैक्षिक समस्याका विषयमा प्रदेश सरकारमार्फत सहयोगको माग समेत गरिएको अध्यक्ष ओमनाथ तिम्सीनाले बताएका छन् ।
यसैगरि,सांसद थापा,वडाअध्यक्ष राईले विष्णुकठठा पूर्व गेउरिया जोडिने कच्ची सडक बाढीका कारण क्षतिग्रस्त स्थलको समेत निरीक्षण गरि त्यहाँको समस्याका बारेमा जानकारी लिदै त्यहाँ यथासिघ्र कल्भर्ट निर्माणको पहल थालिने प्रतिवद्धता जनाएको स्थानीय समेत रहेका एमाले प्रदेश कमिटी लिम्बूले बताए । वर्षायामका समयमा त्यस सडक बाढीका कारण प्रभावित हुदैआएको स्थानीय बताउँछन् ।