दमक, २८ चैत । दक्षिण एशियाली किसान सम्मेलन तथा पार्टी निकटको अखिल नेपाल किसान महासंघको महासम्मेलनलाई सम्वोधनका लागि नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भोलि बुधबार गृह जिल्ला आउदै छन् ।
दक्षिण एशियाली किसान सम्मेलनको २९ चैतमा र अखिल नेपाल किसान महासंघको चैत ३० मा हुने कार्यक्रममा सहभागि हुन उनी झापा आउने भएका हुन् । पार्टी अध्यक्ष ओलीले ती दुवै कार्यक्रम उद्घाटन गर्ने छन् । सम्मेलन उद्घाटन झापाको कमल- ५ स्थित आदिवासी रंगशालामा हुदै छ ।
किसान महासंघले मंगलवार दमकमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष डा. प्रेम दंगालले दुवै समारोहलाई अध्यक्ष ओलीले उद्घाटन तथा संवोधन गर्ने जनाएका छन् । किसान महासंघको राष्ट्रिय महासम्मेलनका लागि जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले दुवै कार्यक्रम अलग अलग रुपमा हुने तर प्रमुख अतिथि ओली रहने जानकारी दिए ।
पत्रकार सम्मेलनमा महासंघका उपाध्यक्ष बेनुप्रसाद शिवाकोटीले देश भरिबाट आउने प्रतिनिधीहरुको बसोबासको व्यवस्थापन दमकमा मिलाईएको जानकारी दिए । किसान महासंघको सम्मेलन, सम्मेलनको वन्द सत्र तथा दक्षिण एशियाली किसान सम्मेलनका लागि सवै तयारी पूरा भएको उनले जानकारी दिए ।
किसान महासंघको सम्मेलनका लागि गठित सुरक्षा समितिका संयोजक प्रकाश बस्नेतका अनुसार दमकलाई आधार मानेर राष्ट्रिय सम्मेलन हुनु दमकबासीकै लागि खुसीको कुरा भएको औल्याए । महासम्मेलन तथा सम्मेलनका लागि आउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिनिधीहरुले दमक तथा झापाको प्रवद्र्धन एकसाथ गर्ने भएकाले यो कार्यक्रममा झापाबासीहरुका लागि गर्वको विषय समेत रहेको उनले जनाए । सम्मेलनको उद्घाटनमा करिव १ लाख मानिसको सहभागिता रहने दावी आयोजकको छ ।