बढ्यो कोरोना संक्रमण, एक जना बृद्धको मृत्यु

झापा,२८ चैत । कोरोना संक्रमणका कारण ३ महिनापछि मंगलबार एक जनाको मृत्यु भएको छ ।वीर अस्पतालमा उपचाररत ७८ वर्षका एक वृद्धको मंगलबार विहान मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमित भएपछि उनी करिब ३ साताअघि अस्पताल भर्ना भएका थिए । यसअघि कोरोना संक्रमणबाट २३ पुसमा एक जनाको मृत्यु भएको थियो ।
मन्त्रालयका अनुसार मंगलबार १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ४३६ नमुनामध्‍ये ४७६ जनाको पीसीआर परीक्षण गर्दा ७४ जना र १ हजार ९६० जनाको एन्टीजेन परीक्षण गर्दा ३२ जना गरी १०६ जनामा कोरोना संक्रमण देखिएको हो ।

अहिले कोरोनाको संक्रिय संक्रमितको संख्या ४६९ पुगेको छ । काठमाडौं उपत्यकामा संस्थागत आइसोलेशनमा २४ जना र आईसीयूमा १३ जना रहेका छन् भने ५ जनाको भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ । मंगलबार मात्रै ४८ जना कोरोनाका विरामी निको भएर घर फर्किएका छन् ।

सङ्क्रमण बढेसँगै मन्त्रालयले कोरोना भाइरसविरुद्धको पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर डोज लगाउन सबैलाई आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published.