दमक,२८ चैत । झापा र मोरङको सिमानामा रहेको मावा खोलामा अवैध उत्खनन भइरहेको पाइएपछि दमक नगरपालिकाले तत्काललाई उत्खननमा रोक लगाएको छ । मापदण्डविपरीत उत्खनन भइरहेको सूचना पाएपछि दमक नगरपालिकाले अनुगमन गरेर उत्खननमा रोक लगाएको दमकका नगरप्रमुख रामकुमार थापाले बताए ।
झापाको दमक नगरपालिका र मोरङको उर्लाबारी नगरपालिकाले साझेदारीमा प्याकेज नं. १ को खोलाजन्य सामाग्री उत्खनन, सङ्कलन तथा बिक्रीका लागि ठेक्का दिएकोमा सम्झौताविपरीत काम भएको पाइएको जनाएको छ । खोला जथाभाबी उत्खनन गर्दा भूक्षयको खतरा पनि बढेको छ ।
एनआरआरएन कङ्क्रिट उद्योग प्रालिलाई आईई प्रतिवेदन र रेखाङ्कनअनुसार मेसिन प्रयोग गरेर खोलाजन्य सामग्री झिक्नका लागि नगरपालिकाले अनुमति दिएको थियो । उर्लाबारी नगरपालिकासहित सरोकारवालाले अनुगमन गर्दा आईई प्रतिवेदनविपरीत काम गरेको पाइएपछि उत्खननमा रोक लगाइएको दमक नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत यज्ञप्रसाद निरौलाले बताए ।
“हामीले ठेक्का सम्झौता गरेको सम्बन्धित कम्पनीलाई लिखित रूपमा पत्र काटेर उत्खननमा रोक लगाएका छौँ,” उनले भने । यसको बोधार्थ उर्लाबारी नगरपालिका र इलाका प्रहरी कार्यालय दमकलाई गराइएको छ ।
जथाभाबी रूपमा खोलाको उत्खनन भएका कारण विगतमा पनि ठूलो समस्या आएको थियो । रतुवा र मावा खोलामा बर्सेनि अवैध रूपमा उत्खनन हुँदा खोलाको धार परिवर्तन हुने र आसपासको क्षेत्रमा पानी नआउने, कुवा तथा पैनीहरू सुक्ने समस्या हुँदै आएको छ ।