मोरङ,२६ चैत । कोशी प्रदेश सरकारको आयोजनामा २०८२ सालभर मनाइने कोशी पर्यटन वर्षको सम्पूर्ण तयारी पूरा भएको छ ।तेह्रथुमको तीनजुरेमिल्के क्षेत्रबाट बुधबार पर्यटन वर्षको शुभारम्भ गरिने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताए ।
प्रदेश सरकारले भारतबाट आउने पर्यटकको सुविधालालाई दृष्टिगत गरी उनीहरु सवार सवारीसाधनमा ‘स्टिकर’ टाँस्ने व्यवस्था गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको अगुवाइमा त्यस्तो व्यवस्था भएको हो ।
पर्यटन वर्षलाई सफलतापूर्वक सम्पन्न गर्न पर्यटन वन तथा वातावरणमन्त्री सदानन्द मण्डलको संयोजकत्वमा निर्देशन समिति गठन भएको छ ।
पर्यटन वर्षको उदघाटन प्रधानमन्त्री ओलीले गर्ने
तेह्रथुमको तीन जुरेमिल्के क्षेत्रबाट पर्यटन वर्षको प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार उदघाटन गर्ने कार्यक्रम छ । पर्यटन वर्ष घोषणाको तयारी पूरा भएको कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्रालयका उपसचिब गुरुप्रसाद दाहालले बताए। प्रदेश सरकारले कोशी प्रदेशमा रहेका अनेकौं पर्यटनको सम्भावनालाई पहिचान गर्न पर्यटन वर्ष मनाउन लागेको हो ।
पर्यटन वर्षपछि पर्यटकीय गन्तव्यको पहिचान गरेर २०८३ मा कोशी प्रदेश भ्रमण वर्ष मनाउने तयारी प्रदेश सरकारको रहेको छ । ‘रमणीय कोशी’ भन्ने नारासाथ मनाउन लागिएको पर्यटन वर्षका लागि प्रदेश सरकारले २०८२ का लागि ८२ पर्यटकीय गन्तव्यको सूचि यसअघि नै तयार गरेको छ ।
नेपालकै होचो केचनाकवलदेखि विश्वकै अग्लो सर्वोच्च शिखर सगरमाथा कोशी प्रदेशमा पर्छ । विश्वका १० अग्ला हिमालमध्ये ५ वटा हिमाल पनि कोशी प्रदेशमै छन् । पर्यटन वर्षलाई सफलतापूर्वक सम्पन्न गर्न पर्यटन वन तथा वातावरणमन्त्री सदानन्द मण्डलको संयोजकत्वमा निर्देशन समिति गठन भएको छ ।