
दमक ,२६ चैत । निर्वाचन जित्नको लागी पार्टीको आन्तरिक एकतालाई मजबुत पार्न कांग्रेस नेता तथा कार्यकर्ताहरुले जोड दिएका छन् । शनिवार कांग्रेस दमक नगर समितिले प्रकाशन गरेको भित्ते पात्रोको बिमोचन तथा नयाँ बर्ष २०७९ को शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै वक्ताहरुले आगामी निर्वाचनमा सबैभन्दा पहिले पार्टी भित्रको आन्तरिक एकतालाई मजबुत पार्नु पर्ने बताएका हुन् ।
कांग्रेस केन्द्रीय सदस्य समेत रहेकी संघीय सांसद महेन्द्रकुमारी लिम्बूले आन्तरिक एकतालाई मजबुत पार्दै अन्य दलसंगको गठबन्धन बनाउनु पर्ने बताईन् । आगामी स्थानीय तहको निर्वाचन नसकिएसम्म पार्टी भित्रका आन्तरिक एकता सुढृण नपारेसम्म गठबन्धन गरेर मात्र निर्वाचन जित्न नसकिने विचार राखिन् । पहिला हामीवीच एकता वन्न जरुरी भएको र त्यसले मात्र कांग्रेस बलियो हुने उनको भनाई थियो ।उनले पार्टीका सवै कार्यकर्ताहरु जनताको घरघरमा पुगेर पार्टीलाई जिताउन निर्देशन समेत दिइन् ।
कार्यक्रममा कांग्रेस झापा जिल्ला सभापति देउमान थेवेले उच्च मनोवलका साथ निर्वाचनमा जुट्न कार्यकर्ताहरुलाई आग्रह गर्दे जित अवश्य प्राप्त हुने औल्याए ।
कार्यक्रममा कांग्रेस प्रदेशसभा सदस्य नन्द नेम्बाङ, कांग्रेस प्रदेश सदस्य रेगिना भट्टराई प्रसाईं, क्षेत्रिय सभापति ढुण्डीराज भण्डारी, प्रदेश क्षेत्रिय सभापति रवि केसी न्यौपाने लगायतले बोल्दै गठबन्धनका कारण केहि ठाउँ त्याग गर्नु पर्ने भएकाले त्यसका लागी तयारी रहन कार्यकर्ताहरुलाई आग्रह गरका थिए । कांग्रेस एक्लै निर्वाचनमा जाँदा पनि अहिले बलियो अवस्थामा भए पनि केन्द्रीय निर्णय अनुसार गठबन्धन दललाई मिलाएर लानु पर्ने भन्दै उनीहरुले आगामी निर्वाचन जित्नका लागी आन्तरिक तिक्तता त्याग्नु पर्ने जोड दिएका थिए ।
कांग्रेस नगर सभापति प्रकाश प्रसाईंको सभापतित्वमा भएको उक्त कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरुको उल्लेखीय उपस्थिति रहेको थियो ।
नयाँ बर्ष २०७९ को भित्तेपात्रो सार्वजनिक
कांग्रेस दमकले नयाँ बर्ष २०७९ को भित्तेपात्रो निकालेको छ । भित्तेपात्रोको कांग्रेसकी केन्द्रीय सदस्य तथा संघीय सांसद महेन्द्रकुमारी लिम्बू,पार्टी जिल्ला सभापति देउमान थेवेसहितका नेताहरुले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।
कांग्रेसले एक दशकदेखि बर्सेनी नयाँ बर्षमा आफनो सांगठानिक गतिविधि समेटेर भित्तेपात्रो प्रकाशन गरिआएको सचिव दिपेश दाहालले बताए । उनका अनुसार भित्तेपात्रोमा पार्टीका प्रदेश,जिल्ला,क्षेत्र,नगर समितिका पदाधिकारी,भातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी तथा सदस्यहरुको नामसहित सम्पर्क नम्बर पनि समावेश छ ।
भित्तेपात्रो प्रकाशन गर्न एक सम्पादक मण्डल गठन गरिएको थियो । दश हजार प्रति निकालिएको भित्तेपात्रो नगरका १० वटै वडा समितिमार्फत पार्टी सदस्यहरुलाई वितरण गरिने सचिव दाहालले बताए ।