दमक,२६ चैत । दमक नगरपालिकाले संस्थागत विद्यालयहरुलाई गरेको वर्गीकरणप्रति चौतर्फी आलोचना हुन थालेको छ । नगरपालिकाले सार्वजनिक गरेको विद्यालय वर्गीकरणसहित शुल्क बृद्धि कार्यले शिक्षा क्षेत्रलाई व्यापारिक सिन्डिकेटको फन्दामा फसाउने मात्र नभएर बालबालिका र अभिभावकहरुमाथि गंभीर मानसिक हिंसा पुरयाँउने काम मात्र भएको भन्दै त्यसलाई तुरुन्तै फिर्ता लिन नगरपालिकाको ध्यानाकर्षण गरेका छन् ।
दमक नगर शिक्षा समितिको सिफारिसमा दमक नगरपालिकाले भारी शुल्क वृद्धि गर्दै गर्ने वर्गीकरण बिरुद्द नेबिसंघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीले आज संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका छन् । उनीहरूले सो सम्बन्धिको निर्णय खारेज गर्न नगर प्रमुख रामकुमार थापाको ध्यानाकर्षण गराएका हुन् ।
ज्ञापन पत्रमा नेविसंघका केन्द्रीय दस्य अतित वान्तवा, अनेरास्ववियू दमक नगर कमिटीका अध्यक्ष निश्चल दाहाल र अखिल क्रान्तिकारी दमक नगर कमटीका अध्यक्ष निरज बस्नेतले जारी विज्ञप्तिमा हुने खाने र हुदाँ खानेवीचको दुरी हटाउनुपर्नेमा विभेदकारी निर्णयले वर्गीय विभेद संस्थागत गराउने भन्दै त्यसलाई तुरुन्तै खारेज गर्न माग गरिएको उल्लेख छ । उनीहरुले शिक्षा नीतिलाई समावेशी,पारदर्शी र समानतामा आधारित हुनुपर्ने तथा शिक्षा सवैका लागि सरल,सुलभ र सवैको पहुँचमा हुनुपर्ने संयुक्त ज्ञापनपत्रमा उल्लेख छ ।
यसैगरि, नेकपा माओवादी केन्द्र दमकका इन्चार्ज वेदु गौतमले सामजिक सञ्जालमा विचार राख्दै दमक नगरपालिकाले गरेको वर्गीकरण ,शुल्क बृद्धिले शैक्षिक क्षेत्र पुनः तहसनहस बनाउने काम भएको बताएका छन् ।