झापा,२४ चैत । प्रदेश नम्बर -१ को नाम कोशी राखिएको विरोधको आन्दोलनमा मृत्यु भएका पदम कुमार लिम्बू (लाजेहाङ्ग)लाई सरकारले शहीद घोषणा गर्ने निर्णय गरेको छ ।
आज बिहान बसेको मन्त्रिपरिषद बैठकले लिम्बूलाई शहीद घोषणा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । साथै मृतक लिम्बूका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको उनले बताइन् ।
कोशी प्रदेशको नाम खारेज गर्नुपर्ने मागसहित आन्दोलनमा रहेका बेला यही चैत ५ गते विराटनगरस्थित मुख्यमन्त्री कार्यालय अगाडि प्रहरीको लाठी लागेर घाइते भएका ४२ वर्षीय लिम्बूको उपचारको क्रममा मृत्यु भएको थियो । धरान उपमहानगरपालिका–१५ बस्दै आएका उनी लिम्बुवान भोलेन्टियर्सका केन्द्रीय सहकमाण्डर हुन् । लिम्बूको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा चैत १० गते मृत्यु भएको थियो । अझै उनको शव अन्त्येष्टि गरिएको छैन् ।
पहिचानवादी दल र संस्थाहरुले गठन गरेको प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिले लिम्बूलाई शहीद घोषणा गर्न माग गरेको थियो । संयुक्त संघर्ष समितिले शहीद घोषणासंगै प्रदेश नामकरण शंसोधन गर्न माग गरि शान्तिपूर्ण आन्दोलन सञ्चालन गरिआएका छन् ।