दमक,२४ चैत । झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिताको उपाधि शिवसताक्षी नगरपालिकाले जितेको छ । बिर्तामोड नगरपालिकाले सञ्चालन गरेको प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा मेचीनगर नगरपालिकालाई ४–३ गोल अन्तरले पराजित गर्दै शिवसताक्षीले उपाधि कब्जा गरेको हो ।
बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको खेलमा उपाधि जितेसंगै शिवसताक्षी नगरपालिकाको टिमले नगद रु ६५ हजार, ट्रफी र मेडल पुरस्कार पाएको छ । शिवसताक्षीले दोस्रो पटक उपाधि जितेको हो । २०७७ सालमा दमक नगरपालिकालाई पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो ।
प्रतियोगितामा उपविजेता बनेको मेचीनगरपालिकाको टिमले नगद रु ४० हजार, ट्रफी र मेडल पुरस्कार पाएको छ । फाइनल खेलको म्यान अफ दि म्याच घोषित भएका शिवसताक्षीका उमेश दनुवारले नगद रु २५ सय र ट्रफी पुरस्कार प्राप्त गरे ।
प्रतियोगितामा उत्कृष्ट गोल रक्षक शिवसताक्षीका गणेश अधिकारी, उत्कृष्ट डिफेन्डर मेचीनगरका धिरज राजवंशी, उत्कृष्ट मिडफिल्डर शिवसताक्षीका श्रवण मल्लिक र उत्कृष्ट स्टाइगर मेचीनगरका रोजित अलि घोषित भए ।
यस्तै, मेचीनगर नगरपालिकाका टिम कप्तान विशाल जवेगु प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगिताको विजेता, उपविजेता र बिभिन्न बिधामा उत्कृष्ट भएका खेलाडीहरुलाई मेची नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, शिवसताक्षी नगरपालिकाका प्रमुख मेघाहाङ थोप्रा, बिर्तामोड नगरपालिकाका उमप्रमुख नगेन्द्र संग्रौला लगायतले पुरस्कार बितरण गरेका थिए ।