मेचीनगर ,२१ चैत। बाहुण्डाँगी युवा क्लबको आयोजनामा प्रथम बाहुण्डाँगी च्यालेञ्ज कप हुने भएको छ । मेचीनगर–४ स्थित सरस्वती माविको खेलमैदानमा आगामी २०८२ वैशाख १३ देखि २० गतेसम्म प्रथम बाहुण्डाँगी च्यालेञ्ज कप २०८२ हुने भएको हो ।
प्रतियोगिताको मुख्य प्रायोजकमा विद्या विकास एकाडेमी रहेको छ । मुख्य प्रायोजक संस्थाबाट प्रतियोगिता सम्पन्न गर्न १ लाख ७२ हजार रुपैयाँ प्राप्त हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले १ लाख ११ हजार रुपैयाँ र उपविजेताले नगद ६१ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिताको संरक्षकमा मेचीनगर ४ नम्बर वडा कार्यालय र सहआयोजकमा बाहुण्डाँगी जेसीज, आरआरटि बाहुण्डाँगी रहेका छन् । प्रतियोगिता अन्तर्गत विभिन्न विधामा समेत खेलाडीहरुलाई अवार्ड प्रदान गरिनेछ । प्रत्येक खेलका म्यान अफ द म्याच, उत्कृष्ट गोलकिपर, प्लेयर अफ द टुर्नामेन्ट र सर्वाधिक गोलकर्तालाई नगद, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिता सम्पन्न गर्न क्लवका कोषाध्यक्ष एश्वर्य सुवेदीको संयोजकत्वमा ५ सदस्यीय आर्थिक समिति गठन गरिएको छ । सहसंयोजकमा राजेश थापा, सदस्यहरुमा सुनिता चौधरी, कञ्चन उप्रेती, लालबहादुर पाण्डे रहेका छन् । प्रतियोगिता सम्पन्न गर्न आवश्यक विभिन्न उपसमिति गठन गरिएको क्लवका अध्यक्ष जीवनकुमार मोतेले जानकारी दिए। प्रतियोगितामा भारतका ३ टिम तथा नेपालको ५ गरी जम्मा ८ वटा टिमले सहभागी जनाउने भएका छन् ।
प्रतियोगिताका विषयमा आज बसेको सरोकारहरुको भेलामा मेचीनगर–४ का वडा अध्यक्ष अर्जुनकुमार कार्की, पूर्व वडा अध्यक्ष नविन बराल, क्लबको सस्थापक, पूर्व अध्यक्षहरु, आजीवन सदस्य, राजनीतिक दलका प्रतिनिधि, स्थानीय बुद्धिजिवी, खेलप्रेमीहरु सहभागी थिए ।
संस्थाले फुटबल तालिम पनि सञ्चालन गर्दै आइरहेको छ । वालबालिकालाई फुटबलप्रति आकर्षित गराउन र भविष्यमा उत्कृष्ट खेलाडी उत्पादन गर्न फुटबल तालिमलाई निरन्तरता दिइरहेको अध्यक्ष मोतेले जानकारी दिए । प्रशिक्षक चन्द्र लिम्बूले दिइरहेको फुटबल प्रशिक्षणमा करिब ६० जनाको सहभागिता रहेको छ । संस्थाले तालिमका लागि मासिक ५८ हजार खर्च गरिरहेको अध्यक्ष मोतेले जानकारी दिए । प्रशिक्षकका लागि १५ हजार, फुटबल खरिद ३० हजार, प्रशिक्षण सामग्री ५ हजार र ग्राउण्ड मर्मतका लागि ८ हजार मासिक खर्च भइरहेको संस्थाले जनाइएको छ ।