दमक,२१ चैत । झापाको कमल पालिकाले सञ्चालनमा ल्याएको कमल नगर अस्पतालले पालिकाको वडा न. ७ स्थित सिंहदेवी आधारभूत विद्यालय विष्णुकठ्ठामा यहि चैत २८ गते निशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ ।
अस्पताल सञ्चालनको दोश्रो बार्षिक स्थापनाको अवसरमा यहि चैत २८ गते वृहत निशुल्क स्वास्थ्य शिविरको तयारी तीव्र पारिएको हो अस्पतालले यसअघि गत फागुन १ गते आफनै अस्पताल परिषरमा निशुल्क स्वास्थ्य शिविर गरेको थियो ।
अस्पतालले दमकको आम्दा अस्पताल, मेची आखाँ अस्पताल , आमा डेन्टलको सहकार्यमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको कार्यालय प्रमुख दिपक कुमार दाहालले बताए । सोहि शिविरमा आम्दा अस्पतालको सहयोगमा महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सर जाँच (भिआईए ) , आङखस्ने समस्याको स्किनिङ सेवा समेत उपलव्ध हुने उनले बताए ।
शिविरमा जेनेरल फिजीसियन, बाल रोग, स्त्री तथा प्रसुति रोग विशेषज्ञ सेवा, हाडजोर्नी ,नशा रोग सम्बन्धी विशेषज्ञ स्वास्थ्य सेवा ,परामर्शसहित निशुल्क औषधी समेत वितरण गरिने उनले बताए । उनका अनुसार शिविरमा दन्त सम्बन्धी दमकको आमा डेन्टल र आखाँ सम्बन्धी मेची आखाँ अस्पतालको विशेषज्ञ स्वास्थ्य सेवा उपलव्ध हुने छन् ।
एक दिने सो शिविरबाट कमल ५, ६ र ७ का बासिन्दाहरु लाभान्दित हुने छन् । अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको चैत ८ गतेको बैठकको निर्णय अनुसार दोश्रो चरणमा यो शिविर सञ्चालन गर्न लागिएको गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले बताए ।
स्वास्थ्य बिमासहितको यस अस्पतालले २०७९ साल फागुन १ गतेदेखि साविक तोपगाछी स्वास्थ्य चौंकीलाई स्तरन्नति गरि ५ शैयाको अस्पताल सञ्चालन गरेको थियो ।
पालिकाले यस अस्पतालको थप सेवा विस्तारमा जोड दिन हालको ५ शैया वृद्धि गरि १५ शैयाको अस्पताल बनाउनका लागि संघीय सरकारका स्वास्थ्य मन्त्री प्रदिप पौडेलसंग भेट गरि वजेटका विषयमा छलफल गरिएको अध्यक्ष राईले बताएका छन् ।