बिर्तामोड, २० चैत । ट्याक्टरबाट खसेर झापाको झापा गाउँपालिका –३ को भित्री सडक खण्डस्थित झाँटीमा आज एक जना वृद्धको मृत्यु भएको छ ।बुधवार दिउँसो साढे ४ बजे गुडिरहेको मे १ त ४१०७ नम्बरको ट्याक्टरबाट झर्दा स्थानीय बर्ष ६० का रमेश हस्दाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
हस्दा ट्याक्टरमा लिफ्ट मागेर झाँटीबाट स्थानीय कामाटोली बजारसम्म जान लागेका र उनी रिँगटा चलेर गुडिरहेको ट्याक्टरबाट खसेको बताइएको छ । हस्दालाई उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुरमा लैजादा चिकित्सकले मृत घोषणा गरेका थिए ।प्रहरीले ट्याक्टर चालक र ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।
लेक लागेर श्रमिकको मृत्यु
सगरमाथा आधार शिविरमा एक नेपाली श्रमिकको ज्यान गएको छ । ज्यान गुमाउनेमा दोलखाको गौरीशङ्कर गाउँपालिका–९ का ५५ वर्षीय लानिमा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार शेर्पा जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित सगरमाथा बेस क्याम्पमा काम गर्दै आएका थिए । यही चैत १७ गते साँझ ७ः३० बजे लेक लागेर बिरामी परेका शेर्पालाई घोडामार्फत खुम्जुङ स्वास्थ्य चौकी लैजाने क्रममा चैत १८ गते थुक्लामा ज्यान गएको प्रहरीले जनाएको छ ।