झापा,२० चैत । ६८औं राष्ट्रिय सहकारी दिवस अवसर पारेर बुधबार झापासहित देशैभरि विभिन्न कार्यक्रम गरि मनाईएको छ ।राष्ट्रिय सहकारी महासंघले यसवर्ष ‘‘मर्यादित सहकारी, समुन्नत समाज’’ थीममा आधारित रहेर देशभर विभिन्न कार्यक्रम गरेर सहकारी दिवस मनाईएको हो ।
दिवसको अवसरमा विर्तामोडमा झापा जिल्ला सहकारी संघले भब्य कार्यक्रमका बीच सदस्य सहकारीका सञ्चालक र कर्मचारीहरुलाई उत्प्रेरणा तालीम प्रदान गरेको छ ।
संघका अध्यक्ष गणेश ढकालको अध्यक्षता तथा कोशी प्रदेश सरकारका खानेपानी, सिंचाई तथा उर्जा मन्त्री एकराज कार्कीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा अन्तर्राष्ट्रिय प्रशिक्षक नारायण प्रधानले ‘सहकारीमा नवप्रवर्तनको प्रवर्धन’ विषयमा उत्प्रेरणात्मक प्रशिक्षण दिएका छन् । प्रधानले आफ्नो सहजीकरणमा आविष्कार र नवप्रवर्तनका समानता एवम् भिन्नता केलाउँदै दुर्ईवटै समानान्तर गतिमा बढ्नुपर्ने सुझाए ।
‘नयाँ नयाँ आविष्कारहरु हुन्छन् तर त्यसले समुदायलाई प्रभाव पार्न सकेन भने त्यसको केही अर्थ रहँदैन’ आफ्नो सहजीकरणको क्रममा प्रधानले भने ‘त्यसले उपभोक्तालाई प्रभाव पारेपछि सन्तुष्ट बनाए पछि यसको सार्थकता पाउँछ ।’नवप्रवर्तनका लागि सबेभन्दा पहिले दृष्टिकोण निर्माण गर्नुपर्ने बताउँदै उत्प्रेरक प्रधानले क्रमशः सीप र औजारहरुको बारेमा ज्ञान राख्नुपर्ने सुझाए ।
यस्तै सहकारी दिवसको थीम ‘‘मर्यादित सहकारी, समुन्नत समाज’’मा आधारित रहेर अगुवा सहकारी अभियन्ता रामचन्द्र उप्रेतीले आफ्नो संक्षिप्त भनाई राखेका थिए ।
एनएमसीका संस्थापक अध्यक्ष उप्रेतीले भुइँमान्छेको उत्थानका लागि सहकारी अभियानले महत्वपूर्ण उपलब्धीहरु हासिल गरेको भए पनि जानेर वा नजानेर भइरहेका कमजोरीहरु आजको चुनौति बनेको बताए । सहकारीलाई छिट्टै ठूलो बनाउने, योगदानभन्दा बढी फाइदा लिने चाहाना राखेकै कारण सहकारी संस्थाहरु अप्ठ्यारोमा परेको उनको भनाई छ ।
सो कार्यक्रममा बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कोन) का महासचिव घनश्याम अधिकारीले ‘अभियानको पुनर्जागरण र सहकारीको आगामी मार्गचित्र’ विषयक प्रस्तुति गरेका थिए ।
उनले सहकारी अध्यादेश मार्फत संशोधित ऐन र यसले अभियानमा हुने प्रभाव, सहकारी संस्थामा सञ्चालक ,लेखा समिति र शेयर सदस्यहरुको काम कर्तव्य र जिम्मेवारीका विषयमा आधारभूत सहजीकरण दिएका थिए ।
नेपालमा २०१३ साल चैत २० गते चितवनमा बखानपुर ऋण सहकारी संस्थाको स्थापना भएको दिनलाई सहकारी आन्दोलनको शुरुआत भएको दिनका रूपमा स्मरण गर्दै हरेक वर्ष चैत २० गते राष्ट्रिय सहकारी दिवस मनाउने गरिएको हो । देशभर अहिले झन्डै ३१ हजार सहकारी संस्था रहेको तथ्याङ्क छ । सहकारीको सङ्ख्यात्मक विकास भए पनि पारदर्शितामा समस्या छ । कतिपय सहकारीको कारोबारमा जोखिम अवस्था छ । नियमित सञ्चालनमा नरहेका, कम्तीमा १५ वर्षदेखि साधारणसभा र लेखा परीक्षण नगरेका सहकारीको सबै कारोबार निष्क्रिय गर्ने सरकारको तयारी छ ।