दमक,१९ चैत । अमेरिकाबाट डिपोर्ट भएर भुटान, भारत हुँदै नेपाल प्रवेश गर्न लागेका थप एक जना भुटानी शरणार्थी पूर्वीनाकाबाट पक्राउ परेका छन् ।सोमबार राति मेचीनगर–४ स्थित नेपाल–भारत सीमा नजिकै बाहुनडाँगीको मिलन टुङ क्षेत्रबाट पक्राउ परेको प्रहरीले जनाएको छ।
उनी अवैध रुपमा नेपाल प्रवेश गर्दै थिए। नाकामा खटिएको सशस्त्र प्रहरी बलले चेकजाँच गर्दा उनीसँग परिचय खुल्ने कुनै पनि कागजात भेटिएन । उनी अमेरिकाबाट फिर्ता आएका भुटानी नागरिक ३० वर्षीय अशोक गुरुङ रहेको प्रहरीले जनाएको छ । उनलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा राखिएको छ ।
यसअघि गत शनिबार तीनजना शरणार्थी बेलडाँगी शिविरबाट पक्राउ पक्राउ परेका थिए । अमेरिकाबाट निष्काशित भएर भुटान फर्केका १० जना पूर्व शरणार्थीहरुलाई भुटान सरकारले आफ्नो देशमा बस्न नदिई नेपालतिरै लखेटेको थियो । ती दश जनामध्ये तीन जना पानीट्यांकी हुँदै दमक नगरपालिका वडा न.३ बेलडाँगी शिबिर पुगेका थिए । बाँकी ६ जना भारतको पानीट्यांकीमा बसेको हुनसक्ने आशंका गरिएको छ ।